November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छः माधव नेपाल

12.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय हवाई दुर्घटना बढ्दै गइरहेकोले नेपालको हवाई आकाश सुरक्षित छैन भन्ने सन्देश प्रवाह भएकामा चिन्ता व्यक्त गर्दै एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्य चौरमा बुधबार दिउँसो भएको दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको विमान दुर्घटनामा दिवंगत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै अध्यक्ष नेपालले शोक सन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

Advertisement

नेपालमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो रहेको बताउँदै उहाँले उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले दुर्घटनाको वास्तविक कारण यथासम्भव पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सो विमान दुर्घटना हुँदा पाइलट मल्लसहित चार चिनियाँ नागरिकको निधन भएको हो ।