काठमाडौ। भगवती मानव कल्याण सङ्गठनले नेपाल राष्ट्र स्तरीय नशामुक्त जनजागरण पदयात्रा सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले पदयात्रा गरेको हो ।
पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने संगठनले जनाएको छ । पदयात्रामा हजारौं व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा १० किलोमिटरको पदयात्रामा सहभागी भएका थिए ।
कार्यक्रम अन्तर्गत नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा हजारौैँले हस्ताक्षर गरेर सहमति जनाएका छन् । पदयात्रा काठमाडौंस्थित चावहिलबाट शुरु भएर चुचेपाटी, बौद्ध, जोरपाटी, पिपलबोट, चामुण्डा गेट, वाहुनधारा, सर्वेश्वर मन्दिर, नयाँवस्ती युवा क्लब हुँदै गुहेश्वरी क्षेत्रमा समापन भएको थियो ।
नशामुक्त जीवन अपनाऔँ–जीवन आफ्नो सफल बनाऔँ, अघि बढौँ दाजुभाई–नशामुक्त बन्नलाई, सारा नेपाली के भन्छ ? नशामुक्त देश ल्याउ भन्छ, भगवती मानव कल्याण संगठन–सत्य धर्मको रक्षक हो लगायतका नारासहित हजारौँको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन समयमा बोल्दै सिद्धाश्रम रत्न अजय अवस्थीले देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको भन्दै समृद्धिका लागि सरकारले देशलाई नशामुक्त गर्न ढिलाई गर्न नहुने बताए । संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।
संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मि अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।