April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम

640

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागूऔषध दुर्व्यसनरहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्धेश्यले दुर्व्यसन विरुद्ध आमाहरू कार्यक्रमका साथै लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।

आइतबार अपरान्ह बिराटनगर-१६ स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम संचालन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख खापुङले लागूऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण गर्नको लागि “दुर्व्यवसन बिरुद्ध आमाहरु” कार्यक्रम कोशी प्रदेशमा अभियानकै रुपमा ल्याएको बताउदै वालबालिकाहरुसँग बढी समय आमाहरुले बिताउने हुँदा उनीहरुको बानीव्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर कार्यक्रम संचालनमा ल्याईएको बताए ।

Advertisement

उनले व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलाना र साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरू नै जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि नागेश कोईरालाले नेपाल प्रहरीले लागूऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गरी युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन संचालनमा ल्याएको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रम स्वागत योग्य रहेको बताउदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने बताए।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले लागूऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पर्‍याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न गत चैत्र १४ गते “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेकोमा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिमा नाकालाई लक्षित गरी यो कार्यक्रम संचालन गरेको बताए ।

कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की,विराटनगर महानगरपालिका-१५ का वडा अध्यक्ष प्रकाश साह र महिला अधिकारकर्मी सामाजिक अभियन्ता सदिना खातुनले आ-आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सामुदायक सेवा केन्द्र रानीकाका पदाधिकारी, नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागिक, संचारकर्मी, महिला सजाल, युवा समुह, स्थानिबासीहरु समेतको उपस्थिति रहेको थियो ।