April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महरा हाजिर जमानीमा रिहा

1.1K

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे महरा सोमबार कपिलवस्तुबाट पक्राउ परेका थिए । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्वास्थ्य अवस्था कमजोर भएको भन्दै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए । महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

Advertisement

महरालाई अनुसन्धान अधिकृतहरूले २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे प्रश्न गरेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्धा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीले जनाएको छ ।