क्वालालम्पुर । मलेसियामा कार्यरत रहेको अवस्थामा पीडित भई अलपत्र भएका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको पिएनसीसीले बेबारिसे अवस्थामा रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेको छ । नेपाली राजदूतवाससँगको सहकार्य साथै एनआरएन, प्रवासी नेपाली मञ्च, प्रवास नेपाली विभाग लगायतका संघ संस्थाहरुसँगको समन्वयमा पिएनसीसीले उक्त उभियान सुरु गरेको हो । सोही अभियान अन्तर्गत बेबारिसे अवस्थामा रहेका ५ जना नेपालीहरुको उद्धार गरि मार्च २१ को उडानबाट स्वदेश फिर्ता पठाएको हो ।
यस अभियान अन्तर्गतको पहिलो चरणमा स्वदेश फिर्ता हुनेमा सुनसरीका बिष्णु बहादुर मगर, नवलपरासीका दीनेश फेवाली, तेह्रथुमका बाबुराम लिम्बू, कैलालीका डगराम चौधरी र लमजुङका कर्ण बहादुर गुरुङ रहेका छन् । उद्धार गरिएका मध्ये बिष्णु बहादुर मगरको पिएनसिसि र कर्ण बहादुर गुरुङको तमु समाजले नेपाल फर्किदा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेको हो ।
त्यसैगरि डगराम चौधरी, दीनेश फेवाली र बाबुराम लिम्बूको लागि अध्यागममा लाग्ने खर्च क्रमशः प्रवास नेपाली विभाग र नेपाल मगर संघ र तेह्रथुम सेवा समाजले ब्यहोरेको हो भने हवाई टिकट क्रमशः पिएनसिसि, थारु कल्याणकारी सभा र प्रवासी नेपाली मञ्चले उपलब्ध गराएको हो ।
पिएनसीसी मलेसियाका प्रतिनिधि पूर्ण लिम्बूका अनुसार उद्धार गर्दा बिमारी अवस्थाका विष्णु बहादुर मगर नेपाली होटलमा अलपत्र भेटिएका थिए । उनलाई उपचारको लागि हस्पिटल पुर्याएको भएपनि केहिदिनको उपचार पश्चात हस्पिटलले सडकमा छाडेको र पुनः उद्धारगरि सेल्टर हाउसमा ल्याउनु परेको थियो ।
त्यस्तै दिनेश फेवाली र कर्ण बहादुर गुरुङलाई पूर्ण रुपमा सडकमा रहेको अवस्थाबाट उद्धार गरिएको र मानसिक बिरामी डगराम चौधरी अनि बाबुराम लिम्बूलाई अलपत्र अवस्थाबाट उद्धार गरिएको हो । उद्धार गरिएका सबै पीडितहरुलाई एनआरएनएद्धारा सञ्चालित सेल्टर हाउसमा आश्रय दिइएको थियो ।
यात्रा अनुमति पत्रका लागि नेपाली राजदूतवासले निःशुल्क उपलब्ध गराएको हो भने राहदानी हुनेहरुको हकमा दूतवासका कर्मचारी जय प्रकाश गिरीले कम्पनीसंग समन्वय गरि उपलब्ध गराएको हो । सेल्टर हाउसमा बस्नेहरुको खानपिनको बन्दोबस्त पिएनसीसीले गरेको हो ।