March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

धर्मकर्ममा अभिनेत्री नीता ढुंगाना

२०७७ कार्तिक १९

3.6K

बाल्यकालदेखि अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले दुई दशक लामो फिल्म करिअरमा आशातित सफलता हासिल गर्न सकेकी छैनन् । ‘६ एकान ६’ बाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म व्यावसायिक रुपमा असफल छन् । यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ ।

राष्ट्रिय पुरस्कार समेत जितिसकेकी उनी लकडाउनपछि धर्मकर्ममा सक्रिय देखिएकी छन् ।  धर्मकर्ममा ध्यान जान थालेपछि नीताले आफ्नै स्वरमा गणेश भजन रेकर्ड गराइन् । यसको भिडियो पनि उनले ठूलो लगानीमा आफ्नो प्रोडक्सन हाउसबाट निर्माण गरिन् । अब उनी २ करोडको लागतमा बेव सिरिज ‘श्रीमद्भगवत गीता’ निर्माण गर्दैछिन् । स्थिति सामान्य भएपछि यसको छायांकन गर्ने तयारीमा उनी छिन् । यसबाट पनि उनको धर्मकर्मप्रति रुचि बढेको बुझ्न सकिन्छ ।  दशैं मनाएर यतिबेला नीताले देशका विभिन्न स्थानमा रहेका मठ-मन्दिरको दर्शन गरिरहेकी छन् । केही दिन अगाडि जनकपुर पुगेर धार्मिक पर्यटकीय स्थल जानकी मन्दिरको दर्शन गरेकी उनले बुधवार हेटौंडामा रहेको शक्ति स्वरुपिणी माता भुटनदेवीमा पूजाआजा गरेकी छन् ।

काठमाडौंमा फर्किने क्रममा बाटोमा पर्ने विभिन्न मन्दिरहरुको पनि दर्शक गर्ने सोचमा उनी छिन् ।  कतिपयले उनको धर्मकर्ममा रुचि बढ्नुको कारण युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीलाई मानेका छन् । उनी गएको एक वर्षदेखि हरिहरको प्रेममा रहेको चर्चा छ । यद्यपि, दुवैले यो कुरालाई अस्वीकार गर्दै आएका छन् । धर्मकर्ममा ध्यान दिँदा मन शान्त हुने, एकाग्र हुने र मन खुशी हुने भएकाले आफूले मन्दिर जाने, ध्यान गर्ने र पूजा गर्न थालेको अभिनेत्री नीताको भनाई छ ।

Advertisement