November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी हैन, गडगडाउदो नदी होः प्रचण्ड

२०८० फाल्गुन २१

1.5K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन् । सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रियामा सहिदहरुको सपना पूरा गर्नका लागि पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको बताए ।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि उनले बताए । उनले भने, ‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।’

Advertisement

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरे । उनले भने, ‘नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ ।’

उनले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गर्दै आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे । शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाए ।