लन्डन। गैरआवासीय नेपाली नागरिकताको फाईदा र चुनौति विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए स्कटल्याण्ड राज्य परिषदको आयोजनामाआइतवार एनआरएन नागरिकताका फाइदा र चुनौति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा ८ प्रकारका नेपालीहरु रहेको बताउँदै विद्यमान नागरिकता सम्बन्धी संवैधानिक प्रावधानले सबै नेपालीलाई नसमेटेको स्पष्ट पारे। उनले गैरआवासीय नेपाली नागरिकता वितरण भए पनि आवश्यक ऐन कानुन संशोधन हुन नसक्दा नागरिकताको बारेमा दुविधा देखिएको बताए। उनले गैरआवासीय नेपाली ऐन, संशोधन भएपछि मात्र एनआरएन नागरिकताको अधिकार र कर्तव्यका बारेमा कानुनी व्यवस्था हुने जानकारी गराए।
मुलुकी देवानी संहिता, संविधानको धारा २९१, राहादनी सम्बन्धी ऐन, मतदानको व्यवस्था, राष्ट्रिय परिचयपत्र लगायतका विषयसँग जोडिएका ऐन कानून सांशोधन नभएसम्म गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा लागू नहुने उनको भनाइ थियो ।
उनले गैरआवासीय नेपालीहरुको सम्पतिको सुरक्षाको लागि एनआरएन सम्बन्धी ऐनमा विशेष व्यवस्था गरिएको जानकारी दिए । डा. शर्माले भने, ‘प्रस्तावित संशोधित ऐनमा विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकताको प्रयोग गरेर जोडेको सम्पति दुई वर्षभित्र स्वघोषणा गरेपछि कानुनी हुने गरी व्यवस्था गर्न लागिएको छ ।’
कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले नेपालको संविधान अनुरुप एनआरएन नागरिकता वितरण सुरु भएता पूर्णरुपमा कानुनी व्यवस्था नहुँदा कार्यान्वयनमा अप्ठ्यारो रहेको बताइन् । आवश्यक कार्यविधिहरु बनेर आइनसेकाले नेपाली दुतावासले नागरिकताको लागि सिफारिश दिन नसकेको उनले जानकारी दिईन् । उनले सरकारको तर्फबाट प्रष्ट निर्देशन आएपछि दुतावासमार्फत एनआरएन नागरिकताको आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, गैरआवासीय नेपाली संघको भूपूगोर्खा सम्बन्धी कार्यदलका संयोजक चन्द्र गुरुङ, काउन्सलर जीत रानाभाट, एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष मोहन कार्की लगायतले गैरआवासीय नेपाली नागरिकताको बारेमा जिज्ञासा राखेका थिए ।
गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनिष खत्रीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम रामप्रसाद कंडेलले सञ्चालन गरेका थिए ।