April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न प्रहरी प्रदेश प्रमुख खापुङको निर्देशन

1.2K

पाँचथर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

निर्देशनको क्रममा उनले सम्पूर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको विकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्नु पर्ने बताए ।

Advertisement

उनले समय-समयमा लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउनुका साथै सचेतनामूलक कार्यक्रम संचालन गरी समाजमा घट्ने विभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिवादी पक्राउ, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

यस्तै, प्रमुख खापुङले पाँचथर जिल्लाका स्थानीय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गरी अन्तरक्रिया तथा छलफल समेत गरेका थिए ।