काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेको ६ वटै सिटमा भागबन्डा टुंग्याएको हो ।
जसअनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाइएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ ।
राष्ट्रिय सभामा गठबन्धनको बैठकबाट नेपाली कांग्रेसलाई १०, नेकपा एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिने सहमति भएको थियो ।