अक्सर म
सपना देख्ने गर्छु
आफूलाई समुन्द्रको किनारामा उभाएर
बगिरहेको पानीको छालसँग
केके भलाकुसारी गरिरहेको
तर….समुन्द्र भने निश्चिन्त आफ्नै बेगमा
बगिरहेको हुन्छ
मलाई बेवास्ता गरेर ।
हो,समुन्द्रले बेवास्ता गर्नु स्वभाविक हो
आखिर उसको र मेरो के नै
आत्मीय सम्बन्ध छ र?
ऊ बेगवान पानीको लहर
म साधरण मान्छे
न म ऊसँग मनको कुरा साट्न सक्छु
न म ऊसँग मिसिन नै सक्छु ।
ऊ बलवान बहाव लिएर
शान्तसँग बगिरहेको पानीको लहर
म, निरीह कमजोर अस्थिपंजर
जो एकमुठ्ठी सासमा अडिएको
एक भूँई मान्छे
त्यसैले…
क्षणभरमै म झस्किन पुग्छु
र आफ्ना गोडासँग छिल्लिंदै
भागीरहेको पानीबाट निस्कन खोज्छु
तर…..म त्यहीं भासिए झैं हुन्छु
भएभरको बल लगाएर निस्कन खोज्छु
अकास्मत एउटा कस्सिलो छाल उर्लिएर आएर मलाई बगाउँछ
म निस्तेज बन्छु,लाचार बन्छु
पानीको तागतसँग ।
अन्तमा म डुब्दै,उत्रंदै बग्दै हुन्छु
झसगं बिउँझिंदा म
आफ्नै आँसुको सागरमा
पौडिएकी हुन्छु
र,भ्रमित सपनालाई बिर्सन
म आफूलाई झक्झकाएर
यथार्थमा ढाल्ने कोसिस गर्छु
अफसोच! आँसुको सागरले
मलाई छाड्न मान्दैन पटक्कै
अनि….सपनालाई
बिर्सन फेरि बिपनामा
अल्मलिन्छु ।