पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको गाउँ कार्यसमिति पुनर्गठन भएको छ । मंगलबार भएको एक भेलाले तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा ५६ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाम्फे चयन भएका छन् भने सचिवमा पुर्णकुमार मिभक, उपसचिवमा नितेष सम्बाहाम्फे र अमर कुमार लावती, कोषाध्यक्षमा तेजप्रकाश लाओती चयन भएका छन् ।
उक्त कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र ग्रामिण स्तरसम्म संस्थागत हुन नपाउदै संघीय प्रणालीलाई निस्तेज पार्न अजङ्गको प्रयास भइरहेको औल्याइएको थियो । यस्तो छलकपट, भ्रष्टाचारी, विभेदकारी र एकात्मकवादि चिन्तनलाई परास्त गर्न जनता समाजवदी पार्टीको उदय भइसकेको पनि बताइएको थियो । ‘गाउँगाउँबाट न्यायप्रेमी जनताहरू सङ्गठित हुन ढिला नगरौं, युवा दस्ता निर्माण गरौं भन्दै जनता समाजवादी पार्टी नेपाल कुम्मायक गाउँपालिका वडा नम्बर १ को वडा कार्यसमिति पनि गठन गरिएको जनाइएको छ ।
समितिको अध्यक्षमा तिर्थराज लावती चयन भएका छन् भने उपाध्यक्षमा साईमन लावती, सचिवमा फुलकुमारी लावती, सहसचिव लोकेन्द्र लाओती मसहित २३ सदस्य चयन भएका छन् ।
पुनर्गठित कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती, केन्द्रीय सल्लाहकार कर्ण लाओती, केन्द्रीय सल्लाहकार असिम पालुङ्वा, नेपाल प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन, राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, मुख्य सचिव केदार धिमाल, जकेन्द्र लावती, काङ्सोरे लिम्बुलगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पार्टी पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँकार्य समितिका अध्यक्ष पदम सुखी सम्बाहाम्फेले हाल भइरहेको १ नम्बर प्रदेशको नाम ‘कोशी’ नाम खारेजी सङ्युक्त संघर्ष समितिलाई तनमनबाट साथ सहयोग दिन आग्रह गरेका थिए । उनले यो आन्दोलन कुनै खेलाचीको लडाइँ नभई आम सरोकारवाला तथा राज्यले उत्पीडनमा पारेका न्यायप्रेमी रैथाने नागरिकको हकहित सुनिश्चितताका निम्ति उठेको बुलन्द आवाज भएको बताए । पहिचान, सभ्यता र इतिहासको आधारमा भूगोलको शिर उच्च पार्दै ‘लिम्बुवान किरात’ नाम राख्नका लागि लडिरहेका योद्धाहरुलाइ पक्राउ गरी थुन्ने अनावश्यक दु:ख दिने जस्ता राज्य संयन्त्रको नश्लिय र अवाञ्छित दमनले समस्या समाधान नहुने, उल्टै हिंसा भड्किने खतरा बढ्दै गएको सम्बाहाम्फेले बताए ।
कार्यक्रम जनता समाजवादी पार्टी नेपाल कुम्मायक गाउकार्य समितिका अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।