काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । एनआरएनएको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको क्रममा त्रुटी देखिए पछि रोकिएको महाधिवेशन अध्यक्षद्वय कुल आचार्य र रबिना थापाको निर्देशन पश्चात पुनः सुचारु भएको छ।
शनिबार राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले महाधिवेशनका थाँती रहेका कार्यक्रमहरु विधान संशोधन ,आर्थिक प्रतिवेदन पास गर्ने र नयाँ कार्यसमिति आधिकारिक तवरले गठन गर्न निर्देश गर्ने कार्यक्रम रहेको महासचिव केशव पौडेलले बताएका छन्।
शुक्रबार तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।
शनिबार केसी पक्षधरहरूबाहेकको बैठकले ११ औँ विश्व सम्मेलन सकेर आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गर्ने तय भएको हो । आरके शर्माको नेतृत्वमा गठन हुने २०२३ – २०२५ नयाँ कार्यसमितिलाई १० औँ महाधिवेशनबाट चयन भएका कुल आचार्य र रबिना थापाको पनि समर्थन रहेको दाबी गरिएको छ ।