काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीलाई केन्द्रीय कार्यलयमा प्रवेश गर्न नदिने बताइएको छ । हालै काठमाडौंमा सम्पन्न संघको ११औं विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको आरोप लगाउदै असन्तुष्ट पक्षले कार्यलयमा आजै ताला लगाउने जनाएको हो ।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण अनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भएका छन् भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।
तर अध्यक्षका अरु दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले उक्त परिणामलाई अस्विकार गरेका छन् । डा केसीको टिमले भने आजै पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको छ । असन्तुष्ट पक्षले अहिले होटल हिमालयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
निर्वाचनमा धाँधली भएको आशंकासहित शर्मा र श्रेष्ठको समूहले शुक्रबारै परीणाम स्वीकार नगर्ने सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । हिजोमात्रै दुवै पक्षबीच निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्ने र त्यसको लागि १५ दिनको समय लिने सहमति भएको थियो । तर, उक्त सहमतिलाई केसीको टिमले अस्विकार गरेको छ ।
असन्तुष्ट पक्षले भने अहिले शपथ लिएका टिमलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न नदिने तयारी गरेको छ । उनीहरुले केन्द्रीय कार्यालयमा नै ताला लगाउने बताइसकेका छन् ।