April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लाहुरेको उत्तरआधुनिक कोसेली

सुरेन्द्र लिम्बू परदेशी
२०८० कार्तिक ४

2.7K

कविता

उता, नेपाल आमाको कोखमा
आज फेरि जन्मिएको छ– ‘एउटा लाहुरे छोरा’
र फेरि खेर गएको छ,
मेरो मातृभूमिको एउटा नियोग भ्रुण ।

यता, अर्को लाहुरे छोरा
सिउरेर छातीमा
साहसको प्रेमिल पप्पीफूल
बोकेर पिठ्युँमा
युद्धका आवस्यक गोलीगठ्ठा
पूर्खाकै पालादेखि
मृत्युलाई अघिपछि लाउँदै
नाइल नदीको किनारै किनार
हिँडिरहेछ वीरताको लम्बाई ।

उसले काटेका अनिँदा रातहरू
रुझ्दै एथेन्सको झरीमा
सम्झी नसक्नु छ
उसले देखाएको वीरता
कारगीलको अक्करे भीरहरूमा
सम्झी नसक्नु छ
उसले टेकेका रगताम्य पाइलाहरू
कोसोभोको निर्जन भूमिहरूमा
उसले देखेका विभत्स दृश्यहरू
बटालिकको उमाथिल्लो चुचुरोमा
काबुलको कङ्क्रिड बङ्करहरूमा
वर्माका घना जंगलहरूमा
यस्ता सम्झी नसक्नु घटनाहरु त
कत्ति छन् कति ।

Advertisement

तर आजकल
हारेर सिसिफस प्रयत्नहरूसँग
जब उ खोल्छ टाउकोको कराहीटोपी
र बिसाउँछ बङ्करको छेउमा
अनि सोच्न थालेको छ, ‘मेरो देश’
किन बेचिरहेछ
यी तन्नेरी सपनाहरू ?
किन साटिरहेको छ
छोरीको विधवा सिउँदो ?
किन लिलाम गरिरहेको छ
मातृभूमिको सुनौलो सपनाहरू ?

भत्किएर साहसको सगरमाथा
आस्थाको अमेजन बग्न थालेपछि
उ हेलिँदै हेलिँदै जान्छ
छल्किरहने विचारका छालहरुमा
अनि उ देख्छ
निगरानीमा उडिरहेका आकाशे ड्रोनहरू
आर्टिफिसियल इन्टेलिजेन्सका अदृश्य एम्बुसहरू
लेजरवीमका अचुक निसानीहरू
र कहिल्यै नमर्ने साइबोर्गका घेराबन्दीहरू ।

अझ पर…पर
उ देख्छ
चाल्स डार्बिनको विकासवाद
सिग्मण्ड फ्रायडको मनोविज्ञान
कार्ल मार्क्सको साम्यवाद
फ्रेडरिक नित्सेको अस्तित्ववाद
इलोन मस्कको न्युरालिङ्क
युसाकु माइजावाँको डीयरमून
जैफ बेजोसको भर्चुअल बजार
सरकेन रोबिन्सनको आधुनिक शिक्षा
प्रयोगशालामा थुनेर देउतालाई
गरिएका वैज्ञानिक परिक्षणहरू
अल्गोरिदमको क्रमविकास
गिलगमेश परियोजना
स्टार लिङ्क
मङ्गल मिसन
स्पेश एक्स
र अरुहरू ।

जब, फर्कन्छ ऊ
भ्रमको बजारबाट
बनेर सपनाको सौदागर जस्तै
बोकेर केही थान उत्तरआधुनिक विचारहरू

तर…
घरमा भने
परिवार र आफन्तहरू
सबै सबैलाई अनौठो भएको छ
लाहुरेले ल्याएको त्यो उत्तरआधुनिक कोसेली ।