April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएन निर्वाचन विवाद: सत्य तथ्य बुझ्न भोटिङ कम्पनीलाई पत्राचार

1.5K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको निर्वाचनमा विवाद उत्पन्न भएको छ । भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने जनाइएको छ ।

शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले जानकारी दिए । त्यसबाट वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा सार्वजनिक गर्ने उनले जनाए ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो ।सार्वजनिक मतपरिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भएका छन् भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

Advertisement

उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो ।

अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।