काठमाडौं । यही असोज ३० गतेदेखि हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि व्यापक बढेको छ ।
नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्माबीच प्रतिस्पर्धा हुँदैछ । तर डा केसी र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
महाधिशनका लागि निर्वाचन समितिले ४, १९२ जनाको प्राराम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ । यस पटक भौतिक र अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था भएपनि ठूलो संख्यामा डेलिगेट्सहरु काठमाडौं उत्रने क्रम जारी छ । ठमेल, दरबारमार्ग, बालुवाटारलगायतका क्षेत्रमा उम्मेदवार तथा डेलिगेट्सहरुको बाक्लो उपस्थिति देखिएको छ ।
विभिन्न देशको भ्रमण सकेर अध्यक्षलगायत अन्य पदका प्रत्यासीहरुले काठमाडौमा चुनावी अभियानलाई तीब्रता दिएका छन् । ९ बुँदे प्रतिवद्धतासहित डा केसीले २०२३–०२५ कार्यकालका लागि अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् भने मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका उपाध्यक्ष श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाएका छन् ।
१० औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि बिनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति भएको थियो । तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावाना निकै कमजोर भएको बताइन्छ ।
यद्यपि, तीन दिन अघि अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणका क्रममा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गरेपछि चुनावी माहोल परिवर्तन भएको छ । उनीहरुबीच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो ।
कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाएका थिए । आफ्नो सम्बोधनको क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दै विनोद कुँवरलाई साथमै राखेर सम्बोधन गरेपछि महेशप्रति सदभाव बढेको छ ।
त्यस क्रममा उनले भने,‘ गैरआवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाइ छाड्ने वाचा गर्दछु,’ उनले भने,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’
त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गरेका थिए । उनले श्रेष्ठलाई शुभकामना समेत दिंदै सदभाव प्रकट गरेका थिए । गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिए पछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ ।
कुँवरको सदभाव र श्रेष्ठको प्रतिबद्धतापछि चुनावी माहोल परिवर्तन हुँदै गएको छ । एकताको पक्षमा रहेका पूर्वअध्यक्षहरु, संस्थापकहरु र डेलिगेट्सहरु महेशको पक्षमा खुल्न थालेका छन् । कुँवर र श्रेष्ठबीचको आन्तरिक सहमति भएको समाचार बाहिरिएपछि एकताको मुद्दा बलियो बन्दै गएको छ । श्रेष्ठको पक्षमा डेलिगेट्सहरुले आफै खुलेर प्रचार गर्न लागेका छन् । ‘यतिबेला मिठा र लोभलाग्दा एजेन्डा भन्दा पनि एकता आवश्यक छ । गैर आवासीय नेपालीहरुको भावना एक हुनुपर्ने र संस्था बलियो बनाउनुपर्ने पहिलो प्राथमिकता हो, यसमा महेशजीको प्रयासले केही उत्साह जगाएको छ,’ काठमाडौंमा भेटिएका एक डेलिगेट्सले भने ।