March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

अबको साहित्य सफल होइन, सार्थक लेखिनुपर्छ: प्रकाश थाम्सुहाङ

सीता तुम्खेवा
२०८० आश्विन १३

10.7K

प्रकाश थाम्सुहाङको जन्म वि. सं. २०३७ साउन २३ मा याङनाम पान्थरमा बुबा गणेशबहादुर थाम्सुहाङ र आमा नेम्बाङ किरात नुमा थाम्सुहाङको कोखबाट भएको थियो । साहित्यमा सालिन कवि, अब्बल सर्जक, अध्ययनशील, समालोचक मानिने थाम्सुहाड इलाममा रहेर साहित्य सिर्जनामा सक्रिय छन् । २०६३ सालामा कविता सङ्ग्रह प्रकाशन गरेका थाम्सुहाङको दशैंअगाडि शब्दथुम निबन्ध सङ्ग्रह ल्याउँदैछन् । उनी लेखक संघका केन्द्रीय सदस्य र याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष हुन् । उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

अहिले शब्दथुमको कभरबाटै मात्रै पाठकमा खुल्दुली बढ्न थालेको छ, पुस्तक आएपछि कस्तो होला ?
“शब्दथुम” मेरो निबन्ध कृति हो । यसअघि २०६३ सालमा कविता कृति प्रकाशन गरेको थिएँ । अर्को कविता कृतिको पाण्डुलिपि तयारी हुँदाहुँदै यसपटक निबन्ध कृति निकाल्ने मोह पलायो । फेरि कवितामार्फत भन्न नसकेका बिषय, विचारलाई निबन्ध मार्फत भन्ने कोशिस गरेको छु । तपाईं ले भन्नुभए झैं कभर रिलिज पछि पाठकहरूबाट पुस्तक कहिले आउँछ ? सोधनी निरन्तर भइरहेछ । यो रेस्पोन्सले म खुशी नै छु । जहाँसम्म पुस्तक आएपछिको कुरा छ – मेरो लामो समयको अनुभव, चिन्तन र साधनाबाट सृजित निबन्धहरू भएको कारण पाठक समक्ष सम्प्रेषीत हुन्छु , लागेको छ

शब्दथुमले सत्रथुमका कथा बोल्छन् कि नेपाल थुमकै बोल्ने हो ?
“शब्दथुम” भित्र जम्मा २४ थान निबन्धहरू सङ्ग्रहीत छन् । यी निबन्धहरू बिशेषतः तीन प्रवृत्तिका छन् । वैचारिक, आत्मपरक र व्यक्तिबिम्ब । सानो हुँदा आमाबाट कथा सुन्ने सुन्दर लतको प्रभाव हुनसक्छ , मैले निबन्धमा कथा मिसाउने प्रयत्न गरेको छु । “ शब्दथुम“ मुलत लिम्बुवानको कथा हो । सत्रथुमकै कथा हो । अलि बढ्ता मैले बाँचेको परिवेश भएको कारण चारखोलथुमको आएको होला । मेरो जरा सत्रथुममै जोडिएको कारण हुनसक्छ नेपाल ,विश्व थुमको कुरा गरेपनि सुगन्ध यतैको आउँछ । र कुनैपनि लेखकले आफ्नो जरा लेख्न अघोर मनपराउँदो रहेछ ।

Advertisement

लेखनमा धेरै अगाडिदेखि हुनुहुन्छ, कृति प्रकाशनमा किन ढिला ?
पचासको दशकदेखि मैले लेख्न थालेको हुँ । यसो गम्दा समय निकै घर्केछ । जति समय मैले साहित्य कर्ममा बिताएँ तुलनात्मक रूपमा कृति कम आएको सत्य हो । मेरो यो लामो कालखण्डमा सृजनात्मक लेखनको अलावा साहित्यसँग जोडिएका विभिन्न गतिविधिमा संलग्न भएको कारण पनि यस्तो भएको होला । जस्तो कि कुनैबेला साहित्यीक पत्रकारिता गरेँ । कुनैबेला अन्य लेखक, कवि साथीहरूको कृति प्रकाशन देखि विमोचनसम्म सहजकर्ताको भूमिका खेलेँ । म आफै नजोडिए पनि साथीहरूले ल्याएका नयाँ वाद, आन्दोलनका पक्षमा माहोल सृजना गर्ने काम गरेँ । केन्द्रदेखि जिल्लासम्मका विभिन्न साहित्यिक सँस्थामा संलग्न भएको कारण मेरो कृति आउन ढिला भएको हो, मेरो आत्मस्वीकृति छ ।

सर्जक ‘लुङ्माहिम साइँला’का सन्तान भन्ने कुरा पछि थाहा पाउँदा यहाँले जुन संस्मरणात्मक निबन्ध लेख्नुभएको थियो, थप अनुभूति सुनाउनुस् न ?
गएको भदौ ३ शनिबारको कान्तिपुर कोशेलीमा “लुङ्माहिम साँइलाको मेटामोर्फोसिस” शीर्षकको निबन्ध छापिएको थियो । सम्भवतः तपाईंले यहीँ संस्मरणात्मक निबन्धको कुरा गर्नुभएको होला । यो निबन्ध मेरो बुवासँगको संस्मरण हो । हाम्रा बुवा गणेश बहादुर थाम्सुहाङ एक आध्यात्मिक र राजनैतिक व्यक्ति थिए । म जन्मिनु भन्दा अगाडि आफ्नो समुदाय , भाषा , लिपीमा उल्लेखनीय काम गरेका थिएछन् । विद्यालय, पुस्तकालय खोल्न भुमिका खेलेका थिएछन् । वि.सं. २०१३ सालमा लिम्बुवान प्रतिनिधि मण्डलबाट राजा महेन्द्रलाई लिम्बुवान स्वायत्तता माग्न गएका थिएछन् । उनको देहान्त पछि मात्र थाहा पाएँ, उनी कवि पनि थिएछन् । याक्थुङ र देवनागरी लिपीमा लेखेका कविता लेखहरू भेटेपछि उनको कवि अनुहारसँग परिचय भयो । दुःखको कुरा उनी बाँचुन्जेल कवि परिचयसँग परिचित हुने मौका पाइनँ ।

मैले बुझ्न थाल्दा उनी आध्यात्मिक थिए । सरकारी जागिर छाडेपछि राजनीति गर्थे । बाल्यकालको मलाई सम्झना छ – इलाममा मिश्रित समाजको बसाईले खासै प्रभाव थिएन, तर पान्थरमा धार्मिक क्रियाकलाप गर्दा अरू अधिकांश भन्दा बेगल हुन्थ्यौँ । हाम्रो घरमा महाभारत , रामायण , गीता थियोे । भारतबाट माताहरू आउँथे । मोटे जुँगे भगवानको तस्बिर टाँगिएको हुन्थ्यो । बुवा ध्यान गर्थे, साँझमा आरती गर्थे । तिर्थाटन गर्थे । मन्दिर बनाउन पनि अहोरात्र खटिए । मैले बुवाको यो अवतारसँग सामिप्यता पाएको हुँ ।

मलाई अचम्म लागेको र सोध्न नपाएर थकथक लागेको कुरा चाहिँ – आफ्नो समुदाय, भाषा , लिपी , पहिचानमा अहोरात्र खटिने लुङ्माहिम साँइला किन, कसरी , के कारण हिन्दु धर्म तिर आकर्षित भए ? के त्यो राज्यको षड्यन्त्र थियोे ? कि अराष्ट्रिय तत्वको आरोप लागि निर्वासनबाट जोगिन सत्ताको धर्म अंगाले ? आफ्नो भाषा, लिपी र पहिचानसँग किन विरक्तिए ? यसरी
याक्थुङ लुङ्माहिम साँइलाबाट भएको हिन्दु मेटामोर्फोसिसको कथा मैले सोध्नै पाइनँ ।

यहाँहरु तीनै दाजुभाई सर्जक हुनुमा लुङ्माहिम साइँलाको कस्तो योगदान छ ?

म सानो छँदा बिहानै बुवाले उठाएर उनीसँगै ध्यान गर्न लगाउँथे । ध्यानपछि श्लोक र ऋचाहरू सँगसँगै दोहोर्याउनु पर्थ्यो । सम्भवतः बालककालको त्यो प्रभावले काव्यप्रति मेरो अभिरुचि जागेर गयो । विद्यालयको पाठ्यपुस्तक बाहेक अन्य पुस्तकहरू पढ्न सदैव सुझाव दिन्थे । सम्झिन्छु – पान्थर याङनामको किरात पुस्तकालय । जुन पुस्तकालय बुवाको पहलमा बनेको थियोे । जहाँ थियोे हजारौं पुस्तकहरू । हामी सानालाई एउटा विदेशीले उपहार दिएको सचित्र रङ्गीन पुस्तकले अघोर आकर्षित गर्थ्यो । त्यो पुस्तक पहिलो जनआन्दोलन माथि फोटोग्राफी थियो । दरबारमार्गस्थित महेन्द्रको सालिकमा चढेर राजदण्ड निकाल्दै गर्दा गोली लागेर ढल्दै गरेको एक युवकको तस्बिर अझै म सम्झिन्छु ।त्यो पुस्तकले मलाई अत्यधिक प्रभाव पारेको थियो । सामाजिक न्याय र समावेशी लोकतन्त्रमा अटुट आस्था राख्न नागरिक उत्सर्गको रङ्गीन तस्बिरले भरिएको उक्त पुस्तक मेरो पहिलो गुरु थियो ।

घरमा भएको रामायण , साझा प्रकाशनका पुस्तकहरू, गरिमा , मनोहर कहाँनिया, कादिम्बीनि जस्ता पत्रिकाहरू मलाई साहित्य प्रति रुचि जगाउनमा जिम्मेवार छन् । र यस्मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा लुङ्माहिम साँइलाको भूमिका छ ।

नेपाली साहित्यबारे विभिन्न धारणा आइरहेका छन् ? खासमा नेपाली साहित्य कस्तो हुनुपर्छ ?
नेपाली साहित्यमा विभिन्न धारणाहरू आईरहेको सत्य हो । नेपाली साहित्यको लामो परम्परा र इतिहासबाट निर्मित विरासतले पनि यस्तो हुनसक्छ । यहाँ हजारौं लेखकहरू छन् । सयौं चिन्तकहरू छन् । अहिलेको समय सबैले आआफ्नो ठाउँबाट साहित्यमा चिन्ता गरिरहेको बेला हो । यद्यपि , यहाँ गम्भीर हुनुपर्ने कुरा के छ भने कतै हामीले गरिरहेको चिन्ता – चिन्तन उल्टै प्रत्युतपादक त भइरहेको छैन ? हामीले गरिरहेको सौर्न्दर्यबोध सामाजिक न्यायको बर्खिलापमा त कतै छैन ? हामीले लेखिदैँ गरेका साहित्यले कलालाई पुज्य बनाउँछ कि घृणित ? प्रस्न यो छ । यो प्रश्न किनपनि उठ्छ भने “रिभर्स चेतना“ लाई आत्मसाथ गर्ने कैयौं लेखकहरू हामी कहाँ छन् । लेखनमा होस् या समाजमा आइरहेको सकारात्मक परिवर्तनलाई स्वीकार्न नसक्ने लेखकीय झुण्ड पनि छन् । जो परम्परामै रमाउन चाहन्छन् ।

यहाँ लेखनलाई फगत कला ठान्ने समुह र सामाजिक उतरदायित्व ठान्ने समुहबीच पनि रोचक वैचारिक भिडन्त छ ।
खासमा अबको साहित्य सफल होइन सार्थक लेखिनुपर्छ । लेखनमा माटोको सुगन्ध आउनुपर्छ । चिन्तन र अभ्यासमा पोख्त भई बहुलता, सामाजिक न्यायको सौन्दर्य दर्शनमा लेखिनुपर्छ ।

तपाई संस्थागत ढङ्गमा पनि सक्रिय हुनुहुन्छ, साहित्यकारिता र संस्थागत साहित्यलाई कसरी एकैपटक हिडाउन सक्नुहुन्छ ?
भारतीय कवि अशोक वाजपेयी भन्छन् – साहित्यीक गोष्ठी , भेलाहरूले लेखक लेखक बीच आत्मीयता स्थापित गर्छ । यहाँ हुने औपचारिक अनौपचारिक बहसहरूले लेखनको धारमै परिवर्तन ल्याउने सामर्थ्य राख्छ ।
म संलग्न संस्थाले गर्ने साहित्य गतिविधिको मुख्य उदेश्य पनि यहि नै हो ।
सृजनात्मक लेखन र संस्थागत साहित्यलाई एकैसाथ लान मलाई खासै कठिनाइ छैन । किनकि साहित्य भन्दा पर मेरो अर्को भुगोल छैन ।

अन्त्यमा, शब्दथुम पाठकले कहिले पढ्न पाउँछन् ?
“शब्दथुम” पाठकले प्रकाशक ईन्डिगो ईन्कको भनाइ अनुसार दशै अघि पढ्न पाउँछन् ।