लघुकथा
तीज नजिकै आएकोले मिना माइती आउने खबरले उनकी आमा बडो हर्षित र बेचैन थिइन्, छोरीको प्रतिक्षामा । निक्कै फुर्तीका साथ घरमा अह्राइखटाइ गरिरहेकी थिइन् । यता बुहारी पनि धेरै बर्षपछि माइती जान पाउने खुशीमा हर्षित हुँदै तयारीमा लागेकी थिइन् ।
‘ए दुलही कहाँ छेस् ? चाँडो गर् । आज मिना आउँदैछिन्, दर खान । खानापिनाको तयार गर्नुपर्छ ।’
बुहारीले पनि जवाफमा भनि, ‘आमा, मैले सबै तयार गरिसकें । मैले पनि त छिटोचाँडो गरेर माईती जानु छ नि !’
बुहारीको जवाफले सासुले झन्किदै भनिन्, ‘कस्तो लाज पचेको कुरा गर्छेस् ? आज नन्द माइती आउने तीजको दर खान । तँ चाँही घर छाडेर बाहिरिने ? त्यो नन्दले के भन्ली ? म आउनु, भाउजु नहुनु भनेर चित्त दुखाउँदिन ?’
बुहारीले सुस्तरी भनी, ‘आमा वहाँलाई झैं मेरी भाउजुलाई पनि तीज लाग्यो भनेर सोंच्नु होला नि मेरी नन्दले ! चित्त त, नदुखाउनु पर्ने हो । कि तीज छोरी, चेलीलाई मात्र आउँछ ? के बुहारीलाई आउँदैन र ?’
कहिल्यै जवाफ नफर्काउने बुहारीले त्यसरी जवाफ दिएकीले सासु स्तब्ध बनेर सोंच्न थालिन्, ‘तीज पो हो त, साँच्चै बुहारीको पनि त आमाबाबु, माइती छन् ।’