काठमाडौं । सरकार सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् ।
छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ । यससँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ ।
उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् । त्यसको कार्यविधि मन्त्रिपरिषद बैठकले पारित गर्नेछ ।
उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।