धरान । डेंगुग्रस्त धरानको अवस्थालाई मध्यनजर गर्दै सुनसरी उद्योग वाणिज्य सङ्घले मिलेनियम सभा हललाई डेङ्गु उपचार केन्द्रमा परिणत गरेको छ । हलमा डेङ्गुका बिरामीहरूको उपचारका लागि हाल २० बेडको व्यवस्था गरेको छ । शिविर मङ्गलवार बिहान देखी विधिवत् सञ्चालनमा आउने छ ।
शिविरमा आउने बिरामीको चाप अनुसार ३० बेडको बनाइने व्यवस्था गरिएको छ । डेङ्गु उपचार शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।
बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले आज साँझ शिविर सञ्चालनका लागि खटिने स्वास्थ्य स्वयं सेविका, केएचडिसीका स्वास्थ्यकर्मी, सरोकावारवाला संस्थाका प्रतिनिधिहरूका बिच शिविर सञ्चालनको पद्धति, प्रक्रियाका बारेमा अनुशिक्षण दिएका छन् ।
शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने डा.शर्माले बताए । बिरामीको अवस्था गम्भीर देखिए तत्काल शिविरबाट बिपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ ।