लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने बताएका छन् । संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष रहेका उनले आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छु ।’
यस्तै अब आफू जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा रहेको पनि डा केसीले बताए । । ‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन । अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु ।’, उनले भने ।
गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने उनको भनाइ छ । उनले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।