काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आयोजक अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आजदेखि अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु भएको विश्वकप अन्तर्गत समूह बी को खेलमा अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको हो ।
सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियाका लागि दोस्रो हाफमा काट्लेले पेनाल्टीमार्फत निर्णायक गोल गरेकी हुन् । खेलको ५२औं मिनेटमा काट्लेले पेनाल्टीमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन् । त्यही अग्रता जोगाउँदै अस्ट्रेलियाले ३ अंक जोडेको हो ।
अस्ट्रेलियाले दोस्रो खेलमन नाइजेरिया तथा आयरल्याण्डले क्यानडासँग खेल्नेछ । आजै भएको उद्घाटन खेलमा न्युजिल्याण्डले पूर्व विजेता नर्वेलाई स्तब्ध पार्दै सानदार सुरुवात गरेको हो ।
समूह विजेता र उपविजेता टिम नकआउट अर्थात प्रिक्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । अन्तिम १६ का खेलहरू अगस्ट ५ तारिखबाट सुरु हुने छन् । अगस्ट १५ र १६ तारिखमा सेमिफाइनल खेल हुने छन् । फाइनल खेल भने २० अगस्टमा सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा हुनेछ ।
यो पटकको विश्वकप जित्न सक्ने दाबेदार टिमका रूपमा डिफेन्डिङ च्याम्पियन अमेरिकासँगै जर्मनी, ब्राजिल फ्रान्स, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेका छन् ।