काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । मंगलबार भारतको गुजरात चेम्बर अफ कमर्सले गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका हुन् ।
अर्थमन्त्री शर्माले भर्खरै भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको बताए । उनले नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको बताउदै नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको बताए ।
विद्युत् मात्र नभई नेपालमा कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको र कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको हुँदा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न अर्थमन्त्री शर्माले अनुरोध गरे ।
नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने, भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा बताए ।