काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) निकट जनवर्गीय संगठनहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाबाट अवैध रुपमा मल बिक्रीवितरण गरिरहेका बिचौलियालाई कारवाहीको माग गर्दै समाजवादीका विभिन्न जनवर्गीय संगठनले काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्।
जनवर्गीय संगठनहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘खेतीपातीको मध्य सिजनमा कृषकले सहज रुपमा रासायनिक मल खरिद गर्न नपाएको अवस्थामा कृषि सहकारीलाई मल वितरण गर्ने नाममा बढी मल दिइरहेको र उचित अनुगमन नभएको ,कालो बजारी बढेको प्रती युवा संघ नेपाल काभ्रेका ध्यानाकर्षण भएको छ ।’
यस्तै, रासायनिक मल बिक्री वितरण पारदर्शी बनाई सबै पालिकालाई नियम अनुसार कोटा निर्धारण गरि पुनरावलोकन गरिनुपर्ने पनि विज्ञप्तिमा भनिएक छ । ‘घटनामा मिलोमतो र कालोबजारी गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका प्रमुख सुरेन्द्र अवाल र सरस्वती कृषि सहकारीको नामबाट अवैध रुपमा मल बढी मूल्यमा बिक्री गर्ने जित कर्ण श्रेष्ठलाई अविलम्ब कानुनी कारवाही गरियोस् । साथै रासायनिक मल बिक्री वितरण पारदर्शी बनाई सबै पालिकालाई नियम अनुसार कोटा निर्धारण गरि पुनरावलोकन गरियोस्।’, विज्ञापनमा भनिएको छ ।