March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

किन यति दुर्लभ छ आगो !

शशि लुमुम्बू
२०८० असार १७

5.1K

हेऽऽऽ अग्निदेव !
हामी त जाडोले
लुगलुग काप्दै
हिउँको सिरकभित्र
न्यानो सपना देख्दै
भर्भराउँदो आगो खोज्दै
कति वनजङ्गल चहार्‍यौँ
कति लेकबेँसी गर्‍यौं
तर भेटिएन है आगो त !
कतै पाएन है न्यानो त !

आगोको भोकले लखतरान
हामी
न्यानोको प्यासले आलसतालस
हामी
चट्टानहरूमा चढेनौँ कि
अक्करहरूमा पुगेनौँ कि
तारेभीरका कापहरूमा
कक्रक्क कक्रेनौँ कि
गढी टाकुराका खोँचहरूमा
खोज्दै पसेनौँ कि
रुखका जरा र टोड्कामा
पलपल चिहाएनौँ कि
अहँ,
पाइएन है कतै आगो त !
भेटिएन है कहीँ न्यानो त !

हेऽऽऽ अग्निदेव !
यसरी हामीले—
आगोको खोजीमा
कति युग बितायौँ
कति कल्प कटायौँ
कति सन्ततिहरूलाई सहिद बनायौँ
तर आगो त के
आगोको आभाससमेत पाएनौँ !

Advertisement

हेऽऽऽ अग्निदेव !
हामी त अझै गलेका छैनौँ है !
न्यानोको सपना देख्न
हामी त अझै थाकेका छैनौँ है !
आगोको खोजी गर्न… !

तिमी त आफैँ आगोको गोला
तिमी त आफैँ अग्निदेवता !

हेऽऽऽ अग्निदेव !
सत्य बताउन सक्छौ ?
कि यो पृथ्वी–लोकमा
किन यति दुर्लभ छ आगो ?