April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सकारात्मक प्रगति भएको छ: उपप्रधानमन्त्री खड्का

1.9K

मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार र सिंगो संसद गैरआवासीय नेपाली संघ (एनआरएनए)को पक्षमा रहेको बताए । ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिएको बताएका हुन् ।

उक्त सम्मेलनलाई सम्नोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने बताए । सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने पनि उनले बताए ।

यस्तै, सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिएको पनि खड्काले बताए । उनले संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु गर्ने जानकारी समेत दिए ।

Advertisement

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले  एनआरएनएहरूलाई विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन आग्रह पनि गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउनसमेत उनले आग्रह गरेका छन्।

सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।