काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएका छन् । थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ ।
रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ ।
‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, नियममा २४८(३) मा उल्लेख छ । निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।
अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन र निलम्बन फुकुवा हुनेछ ।