काठमाडौं । सभामुख देवराज घिमिरे र ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलबीच भेट भएको छ । ईपी बिलेलले सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सभामुखसँग भेट गरेकी हुन् ।
शुक्रवार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कूटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य रहेको उल्लेख गर्दै सभामुख घिमिरेले विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरूमा सहकार्य गर्दै आइरहेको बताए ।
सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा बृहत्तर सहकार्य गर्न सकिने पनि बताए । भेटमा नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए ।
राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए ।
राजदूत बिलेलले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।