November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्रीकप आयोजकका अध्यक्षलाई पहिचान पक्षधरको धम्की

2.1K

ओखलढुङ्गा । जेठ १ गतेदेखि ओखलढुङ्गामा हुने भनिएको कोशी प्रदेश मुख्यमन्त्रीकप फुटबल प्रतियोगिता असार ४ देखि गर्ने तयारी भएकोमा पहिचान पक्षधरबाट धम्की आएको जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि तयारीको चरण लगभग अन्तिममा पुगेको बेला प्रतियोगिताको उद्घाटन तथा समापनका व्यानरमा कोशी प्रदेश उल्लेख नगर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठलाई पहिचान पक्षधरका नेता तथा कार्यकर्ताले धम्की दिएका हुन् ।

प्रादेशिक स्तरीय प्रतियोगिता ओखलढुङ्गामा हुनेभएपछि जिल्लावासीहरुमा खुशीयाली छाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले भने, ‘लामो समय पछि जिल्लामा प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको छ । कोशी प्रदेश सरकारकै आर्थिक तथा प्राबिधीक सहयोग र आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । तर पहिचानवादी पक्षधरका एक नेताले व्यानरमा कोशी प्रदेश उल्लेख नगर्न भने । यदि कोशी प्रदेश उल्लेख गरे आफुहरु विरोधमा रहेकोले कार्यक्रममा अबरोध गर्ने भन्दै धम्क्याए ।’

Advertisement

असार ४ देखी असार ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने गरि जिल्ला खेलकुद विकास समितिले तिब्र रुपमा तयारी थालेको थियो ।

लामो समयपछि १४ जिल्लाका खेलाडी, प्रशिक्षक, समर्थक सहित ३ सय भन्दा बढि पाहुनाहरु जिल्लामा भित्रिदै छन् । ३ सय भन्दा बढि पाहुना झण्डै १० दिन सम्म ओखलढुङ्गामा रहने, जसले गर्दा जिल्लामा सञ्चालनमा रहेको धेरै ब्यबसायहरुमा सहयोग पुग्नुका साथै जिल्लाको प्रचारप्रसारमा समेत सहयोग पुग्ने भएकोले सबैले हातेमालो गरेर प्रतियोगिता सम्पन्न गराउनु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।