लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालको लागि हितकाजी गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले संघका केन्द्रीय अध्यक्ष कुल आचार्यको उपस्थितिमा अल्डरसटमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन् ।
तमुधिं यूकेको पूर्वअध्यक्षसमेत रहेका गुरुङ एनआरएनए यूकेको मनोनित कार्यसमिति सदस्य हुन् । तर, उनले सदस्य पदको शपथ ग्रहण भने गरेका छैनन् । गुरुङ पर्वत वेलफेयर सोसाइटीको विश्व सञ्जालको प्रमुख संरक्षक पनि हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले गैरआवासीय नेपाली संघ यूके दुईवटा छन् भनेर समाजमा भ्रम छरिएको बताए । उनले संस्थाको प्रक्रियालाई मानेर अघि बढ्न आग्रह गरे । गुरुङले निर्वाचन जितेपछि गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताको प्राप्ति गर्ने तिर लाग्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले एनआरएनए अभियानमा भूपूगोर्खा लगायत वेलायतबासी नेपालीको उल्लेख्य योगदान रहेको बताए ।
गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउन आचार्य उनकै घरमा पुगेर उम्मेदवारी दिन मनाएका थिए । आचार्यले गैरआवासीय नेपाली संघको अभियानमा गुरुङले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु, संघका पूर्वपदाधिकारीहरु, स्थानिय रोयल बरो अफ ग्रीनवीचका उपमेयर जित रानाभाट, काउन्सिलर जीव बेल्वासे लगायतको उपस्थिति थियो ।