काठमडौं । भारतमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतको दुई दशक यताकै सबैभन्दा दर्दनाक यस दुर्घटनामा हजार भन्दा धेरै घाइते भएका छन् ।
शुक्रबार पूर्वी ओडिशा राज्यको बालासोर सहरमा दुईवटा यात्रुवाहक रेल र एउटा मालगाडी आपसमा ठोक्किदा दुर्घटना भएको भारतीय समाचारहरुमा उल्लेख छ । एक यात्रु ट्रेन पहिले नै पटरीबाट खसेको र यात्रु ट्रेनको कोचमा ठोक्किएपछि दुर्घटना भएको भारतीय अधिकारीहरूले बताएका छन् । त्यसपछि दुवै रेल पटरीबाट खसेका थिए ।
रेलवेका प्रवक्ता अमिताभ शर्माका अनुसार साँझ ७ बजे हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । रेल दुर्घटनाबारे नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का प्रमुख अतुल करवालले भने, ‘जुन फोर्सले रेलहरू ठोक्किए, त्यसले गर्दा धेरै कोचहरू चकनाचुर भएका छन् ।’
घटनास्थलमा २०० भन्दा बढी एम्बुलेन्स र सयौं डाक्टर, नर्स र उद्धारकर्मी पठाइएको थियो । फसेका र घाइते सबै यात्रुको उद्धार गरिएको छ । अस्पताल पुर्याइएकाहरु कति गम्भिर घाइते भएका थिए भन्ने खुलेको छैन ।
भारतको दक्षिण पूर्वी रेलवे कम्पनीले शनिबार भने दुर्घटनास्थल पुनर्स्थापनाको काम सुरु भएको छ ।