रेशम चौधरीको आममाफीपश्चात दुई खालका प्रतिकृयाहरू हुने नै भए –‘ठीक भयो र बेठिक भयो’ । ठीक भयो भन्ने प्रतिक्रिया ठीकै छन् । त्यसमा मन्थन गर्न परेन । बेठिक भन्ने प्रतिक्रियातर्फ नजर लगाउँदा केही विषयहरू उक्किएका छन् । ति विषयलाई मेरो कोणबाट यसरी हेरेको छु ।
नेपाली काँग्रेस, राजावादी राप्रपा, भाई काँग्रेस हो कि रविन्द्र मिश्र र ज्ञानेन्द्र साही पथमा कता हो टुङ्गो लाग्न बाँकी रहेका रवि लामिछानेको पार्टी कथित स्वतन्त्र पार्टीहरूले यो आम माफी ठीक होईन भन्नुलाई त्यति अनर्थ नमानिएला । भलै नेकाका असाध्यै परम्परावादी नेता तर उमेरले चाहि युवा गगन थापा मार्काहरूले मात्रै बेठिक भनिराखेका छन् । संस्थापन पक्षचाहिँ ठीक भनि राखेकै छ । यो राम्रो पक्ष हो । यिनहरूले बेठिकभन्दा पनि आश्चार्य नमानेको किन भने यिनीहरूको कर्म नै त्यहि हो । यिनीहरू शोषण, दमन, उत्पिडन जे भएको छ, त्यसको निरन्तरता चाहन्छन् । खासमा यिनहरू अहिले भै रहेको एकल सामुदायिक सत्ताको निरन्तरता चाहन्छन्, उत्पिडित समुदायमाथिको उत्पिडनको सुदृढिकरण, अझ मजबुती चाहन्छन् । यिनहरूको डिक्सनरीमा शोषण दमन भन्ने नै छैन । यसो भएकोले गर्दा यसलाई अन्यथा मानिएन ।
अति आश्चर्य त यो हो कि आफूलाई सबैभन्दा अब्बल कम्युनिष्ट ठान्ने एमाले र यसका अन्धभक्तहरू पो किन विरोध गर्छन् ? कम्युनिष्ट हुनुको पहिलो शर्त नै सबैखाले उत्पिडनको विरोध गर्नु हो । वर्गीय, जातीय, क्षेत्रीय र लिङगीय उत्पिडन नेपालमा विद्यमान छ । कम्युनिष्ट हुनु भनेको वर्गीय उत्पिडनको विरोध गर्नु मात्रै होईन । यसरी मात्रै बुझेको हो भने त्यो कम्युनिष्ट हुनै सक्दैन । के नेपालमा वर्गीय उत्पिडन मात्रै छ ? छैन, माक्र्सवादको सामान्य अध्ययन भएको कुनै पनि ब्यक्तिले सजिलै बुझेको के हो भने यहाँ वर्गीय उत्पिडन मात्रै छैन । जातीय, सामुदायिक उत्पिडन पनि जर्जर रूपमा रहेको छ । यसलाई स्वीकार गर्ने कि नगर्ने ? यसलाई स्वीकार नगर्ने र यसको विरोध नगर्ने भए कसरी कम्युनिष्टको खोल ओढ्न पाईयो त ? अरु जातीय, क्षेत्रीय र लिङ्गीय उत्पिडनको चाहिँ किन निरन्तरता र सुदृढीकरण चाहियो ? जाने मानेकै कुरा के हो भने विगतदेखि चल्दै आएको जातीय उत्पिडनको निरन्तरता चाहने पक्ष र यसको अन्त्य चाहने पक्षबिच अन्तरविरोध चल्दै आएको सत्य हो, अर्थात् यि दुई विपरित स्वार्थको टकराव हुदै आएको छ । यसमा माक्र्सवादकै अध्ययन नभएकाहरू लाग्नु स्वभाविक हो तर तर आफूलाई अब्बल कम्युनिष्ट ठान्नेले पनि यसो गरे पछि के बुझ्ने ?
कैलाली घट्ना यिनै उत्पिडित समुदायलाई पटक्कै अधिकार दिन हुदैन भन्ने जड र उत्पिडनकारी समुदायको हठ, दम्भ, दमन र ज्यादतीले निम्त्याएको अप्रीय घट्ना हो । उत्पिडित थारु समुदायले स्वायत्त शासन मागे । यसका निम्ति थारु बाहुल्य क्षेत्र समेटेर थारुवान, थारुहट मागे । तर दास, वधुवा, कमैया बनाएर दोश्रो दर्जाको नागरिकसरह बनाईएका थारुहरूलाई अधिकार दिन किन मान्थे ? अखण्ड सुदुरपश्चिम बनाएर थारुहरूलाई निरन्तर दमन, शोषण गर्ने योजना बनाए । त्यसपछि दमन र ज्यादती शुरु भो, कति हो कति ! त्यसको प्रतिरोध भयो अनि क्षति भयो । तर त्यो दिन रेशम बर्दियाको गुलरियामा रहेको भनिएको छ । तर सबै चाँजो पाँजो मिलाएर मिसिल तयार हुने नै भो । के मात्रै हुदैन र नेपालमा ?
हो, हामीले बुझेको उत्पिडित समुदायलाई पटक्कै अधिकार दिन हुदैन, पहिचान दिन हुदैन, शासक समुदायको उत्पिडनले निरन्तरता पाउनु पर्छ भन्ने बिचारका मूल नायक केपी ओली नै हुन् । यसमा कुनै दुविधा छ र ? कसले के के भन्दै आएका छन् र गर्दै आएका छन् भनेर सबैले देखेकै छैन र ? कि यसलाई पनि आरोप मात्रै भन्ने कि ! पु्र्वमा पनि बिचरा हिक्मत कार्कीहरूलाई सत्तोसाप गरिएको छ तर यिनी केपीकै मामूली कारिन्दा न हुन्, नमानौ नहुने । यहि केपी कै दम्भ र घमण्डले फेरि कुन दिन पूर्वमा कैलाली घट्ना दोहोरिने हो र कति सुरक्षाकर्मीहरू मारिने हुन पत्ता छैन र कतिलाई रेशम बनाईने हो थाहा छैन तर परिस्थिति निक्कै भयावह छ । यहाँ दुईवटा बिचारहरू भयानक रूपमा टक्कराई रहेका छन् । एउटा बिचार केपी ओलीको हो उनी शासक समुदायको उत्पिडनको निरन्तरता र सुदृढिकरण चाहन्छन् भने अर्को बिचार प्रचण्डको हो, उनी शासक समुदाय कै भए पनि उत्पिडित समुदायलाई अधिकार, सम्मान र पहिचान दिनपर्छ भन्नेमा छन् । एकल समुदायको हाली मुहालीको अन्त्य गर्न चाहन्छन् । अनि तपाई नि के चाहनु हुन्छ ?
अनि तपाईहरू ‘ठिक’ भन्ने तिर कि ‘बेठिक’ भन्नेतिर हो ? एकल सामुदायिक सत्ताको निरन्तरता र उत्पिडित समुदायहरूको पहिचान जबरजस्त मेटाएर, मेटाउन लाएर शासक समुदायको पहिचान स्थापित गर्न चाहने केपी ओलीतिर कि शासक समुदायकै भए पनि उत्पिडित, उपेक्षित, तिरस्कृत समुदायलाई समान अधिकार, सम्मान र पहिचान दिनपर्छ भन्ने प्रचण्डतिर हो, हौ लुङाहरू !?
(लेखक, पूर्व संविधानसभा सदस्य हुन् । यो लेखकको फेसबुकबाट साभार गरिएको हो ।)