काठमाडौं । भारतमा तीनवटा रेल दुर्घटनामा पर्दा कम्तीमा २ सय ३३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । शुक्रबार तीनवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको सिएनएनले जनाएको छ ।
पूर्वी ओडिशा राज्यको बालासोर सहरमा दुईवटा यात्रुवाहक रेल र एउटा मालगाडी ठोक्किएको हो । दुर्घटनामा कम्तिमा २ सय ३३ जनाको मृत्यु हुनुका साथै ९ सय जना घाइते भएको हो । उद्धार टोलीहरूद्धारा उद्धार कार्य सञ्चालन भएरहेको हुँदा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनास्थलका तस्बिरहरूमा क्षतिग्रस्त रेल गाडीमा बाँचेकाहरूलाई खोज्ने प्रयास गरिरहेको देखाइएको छ । भिडियो फुटेजले रेलको ट्र्याकहरू भरी उल्टिएका कोचहरू, र मानिसहरूले भत्किएको रेलको डिब्बामा चढेका देखाउँछन् ।
शुक्रबारको उद्धार प्रयासमा १ सय १५ भन्दा बढी एम्बुलेन्स र धेरै फायर सर्भिस एकाइहरू समावेश थिए । रातारात करिब ५०० युनिट रगत संकलन भएको, जसमा हाल ९०० युनिट स्टकमा रहेको ओडिशा राज्यका मुख्य सचिव प्रदीप जेनाले बताएका छन् ।
जेनाले ट्वीटरमा लेखेका छन्, ‘यसले दुर्घटना पीडितको उपचारमा मद्दत गर्नेछ । महान कार्यका लागि रक्तदान गर्ने सबै स्वयंसेवकहरूप्रति म व्यक्तिगत रूपमा ऋणी र कृतज्ञ छु ।’
जेनाले विनाशकारी दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको बताएका छन् । जेनाले अहिलेलाई उद्धार कार्यहरूमा फोकस रहेको बताएका छन् । ‘हामी थप डाक्टर, एम्बुलेन्स, बस पठाउने काम मात्र गरिरहेका छौं, त्यसैले हामी के कसरी दुर्घटना भयो भनेर सोध्ने सोचेका छैनौं’, उनले भने ।
एक यात्रु ट्रेन पहिले नै पटरीबाट खसेको र यात्रु ट्रेनको कोचमा ठोक्किएपछि दुर्घटना भएको भारतीय अधिकारीहरूले बताएका छन् । त्यसपछि दुवै रेल पटरीबाट खसेका थिए ।
रेलवेका प्रवक्ता अमिताभ शर्माका अनुसार साँझ ७ बजे, १२८४१ कोरोमण्डल एक्सप्रेस, जुन शालिमार र चेन्नईको बीचमा, बालासोरको वरिपरि, यसको १० देखि १२ कोच पटरीबाट खसे र विपरीत ट्र्याकमा फ्याँकियो । केही समयपछि, यशवंतपुर र हावडाको बीचमा चल्ने अर्को ट्रेन ती पटरीबाट खसेका कोचहरूमा ठोक्कियो, जसले गर्दा तीनदेखि चारवटा डिब्बाहरू पटरीबाट खसेका थिए ।
कोरोमण्डल भारतको पूर्वी तट हुँदै पश्चिम बंगालको राजधानी कोलकातादेखि दक्षिण भारतीय सहर चेन्नईसम्म यात्रा गर्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्वीट गर्दै शोक व्यक्त गरेका छन् । ‘ओडिशामा भएको रेल दुर्घटनाबाट दुःखी छु । दुखको यस घडीमा शोकसन्तप्त परिवारजनमा मेरो समवेदना छ । घाइतेहरुको छिट्टै निको होस् । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ र प्रभावितहरूलाई सबै सम्भव सहयोग गरिँदैछ’, उनले लेखेका छन् ।