काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेश पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले उक्त मन्दिरमा १ सय रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् भने मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।