काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा गणतन्त्र दिवस २०८० को उपलक्ष्य ‘तातो गोली’ सार्वजनिक भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमबार दर्शक तथा श्रोतामाझ ल्याइएको यस गीत ‘शिशिर योगी युटुव च्यानल’मार्फत सार्वजनिक भएको हो ।
गीतमा लोकप्रिय गायक शिशिर योगीको स्वर, संगीतकार बि.बि. अनुरागीको संगीत तथा संगीतसंयोजन र नेतृ दिलकुमारी पन्तको शब्द रहेको छ । यस्तै, मिक्सिङ श्यामस्वेत रसाइली, बाँसुरी गोपाल देव घतानी र ऋदम कुमार महाराज योगीको रहेको छ ।
गीत सार्वजनिक गर्दै रचनाकार पन्तले आफ्नो सामाजिक सञ्जालबाट २०६२/०६३ मा भएको जनआन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको बताएकी छन् । ‘शहीद भिमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नुभएको थियो । अनि आफैलाई स्पर्श गरी वारपार हुने गरी टियर ग्याससँगै मडारिएर आउने ताता गोली जनतामाथि बर्सियो । सडकमा आम जनताबाट गणतन्त्रको नारा बुलन्द र घना हुँदै थियो । मलाई लाग्थ्यो ती गोलीहरूले मेरो छाती पनि चिरोस् तर क्रान्तिको आगो निभ्न दिने छैन । यो कसम मेरो मात्र थिएन आम महिला, युवाहरू साथै मजदुर लगायत परिवर्तनकामी आम जनसमुदायको थियो ।’, उनले भनेकी छन् ।
उक्त गितको सार्वजनिक भएसँगै लेखक साहित्यकार पत्रकार धनराज वास्तविक लेख्छन्, ‘जतिबेला एकात्मक राज्यसत्ताकोविरुद्ध सडकमा आन्दोलन जारी थियो, त्यही बेला नेत्री पन्तलेले सडकबाटै रचना गर्नुभएको यो गीतको सान्दर्भिकता अझै पनि जिउँदै छ । व्यवस्था सतहमा मात्रै बदलिएको हो । समाजको अन्तरकुन्तरमा रहेका नश्लवादी, जातिवादी, पक्षपाती चरित्र र प्रवृत्तिहरूको समूल अन्त्य गर्न बाँकी छ । त्यसैले जस्तो सुकै परिस्थितिमा पनि लड्नुपर्छ । गोली लाग्दा पनि छातीहरू दुख्नु हुन्न । चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्छ । कदमहरू रोक्नु हुन्न । हामीले यस्तै गीत गाउँदै संघर्षपूर्ण यात्राबाट गणतन्त्र ल्याएका हौं ।’