विराटनगर । प्रदेश १ मा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मंगलबार अपरान्ह एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले पत्रकारहरुसगं भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।
भेटघाट कार्यक्रममा बास्तोलाले १ नम्बर प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामूलक कार्यक्रमलाई तिब्रता, अपराध गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी निस्तेज, लागुऔषध ओसार पसार नियन्त्रणमा कडाई तथा संचालनमा रहेका विभिन्न सचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताए । साथ उनले कार्यक्रममा संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको बारेमासमेत प्रस्ट पारेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीद्वारा सम्पादन गरिएका त्रिवर्षीय तुलनात्मक कार्य विवरणको प्रस्तुतिकरण गरेका थिए । जस अन्तर्गत फरार अपराधी पक्राउ, भन्सार चोरी निकासी नियन्त्रण, नदिजन्य पदार्थको अवैध दोहन कारवाही, अवैध काठ चोरी निकासी नियन्त्रण, हातहतियार पक्राउ, गाँजा फडानी, लागु पदार्थ नियन्त्रण, उत्कृष्ट अनुसन्धान तथा प्रहरी कार्य, भन्सार चोरी निकासी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सचेतनामुलक कार्यक्रम संचालन सम्बन्धिका विवरणहरु प्रस्तुत गरेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ट उपरीक्षक जयराज सापकोटा लगायत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहबी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङसमेतका प्रहरी प्रमुखहरु साथै प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
