April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

१४ बुँदे प्राग घोषणापत्र जारी गर्दै एनआरएनएको १५ औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न

1.7K

अष्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै चेक गणतन्त्रको राजधानीमा अधिवेशन सम्पन्न भएको हो ।

उक्त तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । कार्यक्रममा बोल्दै नेम्वाङले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुकोसमेत भूमिका रहेको बताए । उनले समयानुकूल संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए । यस्तै, गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्तिहरू एक हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादीका सांसद खिमलाल देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।

Advertisement

समापन समारोहलाई प्रमुख अतिथिको रुपमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले नेपालको संविधानमा उल्लेखित गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । उनले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने र एनआरएनहरुका समस्यालाई कानूनी फ्रेमवर्कभित्र राखेर समाधान गरिने बताए । उनले नेपालमा कृषि, शिक्षा, स्वास्थ्य थप लगानी गर्न आह्वान गरे । त्यस्तै प्रवासी नेपालीहरुको ज्ञान, सीप अनुभव र उद्यमशीलता नेपालको लागि उत्तिकै महत्वपूर्ण रहेको पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए । उनले आगामी दशैँ, तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरुका लागि छुट्टै एनआरएनए मन्त्रालयको स्थापना गरेर प्रवासी नेपालीका समस्याको समाधान गर्न नेपाल सरकारसँग माग गरे । उनले संगठनलाई विधान तथा सदस्यहरुको भावना अनुसार चलाउनुपर्नेमा जोड दिए ।

एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका विषय सम्बोधन गर्नमा भएको ढिलाईले प्रवासका नेपालीले धेरै समस्या भोगिरहेको बताए । उनले संविधानमा उल्लेख भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउन नसकेकोमा दुःख व्यक्त गरे । ‘एनआरएनहरुले आन्दोलन गर्ने हो भने देशको आर्थिक स्थिति कहाँ पुग्छ ? प्रधानमन्त्रीले ६ महिनामा गर्छु भन्नु भएको छ । छिटो भन्दा छिटो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याईयोस,’ उनले भने । आफुहरुले दोहोरो नागरिकताको माग नछाडेको पनि उनले बताए ।

सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष, संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा छलफल भएको थियो ।