यसकारण
म व्यस्त छु यतिखेर ।
हिउँका अक्षरहरू बटुल्दै
म लेखिरहेछु तिमीलाई कविताहरूमा
हिउँका संगीतहरूमा गाइरहेछु गीत
र तिमीलाई सम्झिँदै बजाइरहेछु सारङ्गी ।
हिउँको छातीमा जब तिमीलाई देख्छु
लाग्छ कति चिसो भएको हुँदो हो तिमीलाई
एकपटक हेर त्यो टेबुलमाथिको ऐना
तिमीले सबैभन्दा पहिला मलाई देख्नेछ्यौ ।
जब हिउँहरू पर्छन् पहाडको छातीमा
तब ढुङ्गाहरू हिमाल भन्छन्
म यतिबेला हिउँहरूमा लेखिरहेछु तिम्रो नाम ।
जाडो मौसम छ
थाहा छ तिम्रो शरीरले चिसो सहँदैन
पर्ख हिउँकै धागो बनाएर म बुन्दैछु
तिमीलाई मनपर्ने सेतो उनीको स्वीटर ।
थाहा छ
म आउने बाटो हेर्दाहेर्दै
तिम्रा आँखाहरू थाकिसेके होलान्
मेरो प्रतीक्षा गर्दागर्दै
भोकभोकै दिनरातहरू मुस्किलले कटायौ होला
म बझ्छु तिम्रा अनिँदा रातहरूको पीडा ।
दिल रानी !
पर्ख केही दिन पर्ख
म आउँदै छु
तिमीलाई भेट्न घामको उज्यालो लिएर ।