April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौंमा नर्सिङ सम्मेलन, नर्सहरुको आत्मबल बढाउन र विदेश पलायन रोक्न माग

2.1K

काठमाडौं । नेशनल नर्सिङ सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नसिंङ सम्मेलन “नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास”भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच बर्षमा गर्नुपर्ने रिभोलुसन हुन नसकेको बताए । उनले भने‘ गाउँ गाउँमा हेल्थ केयर सेवा पुर्याउनका लागी संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ । यसका लागी सरकारले नै पहल गर्नुपर्छ ।’

सम्मेलनमा कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौं लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताईन । उनले महामारीको रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने जिकिर गरिन् ।

Advertisement

नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे ।

काठमाडां मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठक अनुसार अहिले पढिरहेका नर्सहरु विदेश जाने गरेका छन् । नर्सहरु नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायत बढी जाने गरेका उनले बताए ।

नेपालमा अध्ययन गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेका छन् । नेपालमा पिसियलको तथ्यांक घटेको उनको भनाई छ । अहिले नर्स उत्पादन घटेको छ । उनका अनुसार सरकारले खालि ठाउँमा करार पुर्ति गर्नुभन्दा त्यो नगर्दा जसले गर्दा नेपालमा नर्सको अभाव आउने देखिन्छ । उनले नेपालमा नर्सलाई कसरी टिकाउँने विषयमा सरकारले ध्यान नदिएको देखिएको गुनासो गरिन् । उनले नर्सलाई राम्रो सेवासुविधा , राम्रो शिक्षा दिएमा नेपालमै नर्स टिकाउन सकिने हुन्छ ।

आर्मी अस्पतालकी नसिंङ्घ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पुर्ती गरेमा नर्स विदेश जानेक्रम केही रोक्न सकिने बताइन । सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना विरामी हेर्नुपर्ने भनिएको भए पनि तर त्यो नरहेको उनको भनाई छ । उनले अहिले एक नर्सले ४० जना बिरामी हेर्नुपरेको बताइन् । ‘हामी आफैमा पनि बाहिर गएर पैसा कमाएर खुसी हुन्छौं कि यही दुई छाक खाना खाएर राम्रो सेवा दिएर खुसी हुन्छौं ?’ उनको प्रश्न थियो ।

नर्सिङ्घ काउन्सिकी उपाध्यक्ष सारदा अर्यालले नर्स विदेशीनुलाई कसरी रोक्न सकिन्छ भनेर प्रस्ट पारेकी थिइन् । उनले आफ्नो देशमै केही गर्छु भन्दाभन्दै पनि रोजगारी नहुँदा नर्सहरु विदेशिएको बताइन । यसरी नै नर्स विदेशीने हो भने भविष्यमा नर्सको अभाव हुने देखिएको उनको भनाई छ ।

त्यसैगरी, नेपालमा नसर्ने रोगबाट वर्षमा १ लाख २६ हजार मानिसको मृत्यु हुने गरेको युनिसेफ पाकिस्तानका पूर्वप्रमुख हरि बाँस्कोटाले बताए । उनले नेपालमा ४० वर्षभन्दा माथिका १२ लाख दिर्घरोगका रहेका बताए । उनले भने,‘नेपालमा पछिल्लो समय नसर्ने रोगमध्ये पनि सबैभन्दा बढी मधुमेहका छन् ।’ पछिल्लो समय विश्वमा १० प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको उनको भनाई छ । मानिसमा जनचेतनाका अभाव हुदाँ सुर्तिजन्य पदार्थको सेवन बढेको उनले बताए ।

वीर अस्पतालकी नर्सिङ् प्रमुख संगिता श्रेष्ठले नेपालीहरुले खान नजानेर नजाने रोगको जोखिम बढाइरहेको बताइन । उनले भनिन्, “हामीले खानेकुरामा ध्यानमा नदिंदा नसर्ने रोगको जोखिम बढाइरहेका छौं ।’ नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले नीति नियममा सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताइन् । सुर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगको बढाएको उनको भनाइ छ ।

‘हामीले मानिसमा नसर्ने रोगका बारेमा हामी नर्सहरुले जानकारी गराऔं,’ उनले भनिन,‘नसर्ने रोगले एकजना बिरामी भएमा परिवारको सबैमा आर्थिक समस्या पारेको हुन्छ ।’ नर्सिङका विद्यार्थीहरुले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउन पनि आग्रह गरिन् ।

पाटन अस्पतालकी नर्सिङ सुपरभाईजर रचना शाक्यले नसर्ने रोगबाट बच्न जिवनशैलीमा ध्यान दिनुपर्ने बताइन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्वउपकुलपति प्राडाराजेन्द्र वाग्ले नसर्ने रोगमा सबै जना मिलेर अघि बढेमा परिवर्तन आउने बताए ।

सम्मेलनमा क्लवकी उपाध्यक्ष सम्मेलनकी संयोजक उसा खनालले नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रुपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको बताइन । उनले सम्मेलनमा उठेका समस्याका विषयमा सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुती भएको थियो ।