काठमाडौं । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली रहेका छन् ।
प्रहरीका अनुसार वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन् । आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा उनको घर पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ। उनलाई जिल्ला अदालत रोल्पाले थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।