चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० बैशाखमा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि बिहान लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।
१० बैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ । यसअघि उनको नागरिकता विवादमा दोषी पाइएपछि सांसद पद गएको थियो । अहिले उनकै क्षेत्रमा उपनिर्वाचन भइरहेको हो ।
भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १०ः१५ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिकी सभापति सीता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका– वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् । मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन् ।
यता, नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले लामिछानेलाई समर्थन गर्ने भएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले चितवन क्षेत्र नम्बर २ मा आफ्नो समर्थ रास्वपाका सभापति लामिछानेलाई हुने बताएका हुन् ।
भारतपुर नगरपालिकाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेपछि पार्टीभित्र विद्रोह गरेर पौडेल बागी उम्मेदवार बनेका थिए । स्वतन्त्रका उम्मेदवार बनेका पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।