काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ।
आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।
उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका हुन् ।
नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता नलिएपछि आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ ।




