April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूके र बार एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर

4.2K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल बार एसोसियसनका अध्यक्ष तथा वरिष्ट अधिवक्ता गोपाल कृष्ण घिमिरे र पूर्व बार एसोसियसन माहासचिव सुनिल कुमार पोखरेलसँग अन्तरक्रिया गरेको छ । मिडल्याण्डको नटिङ्गममा भएको अन्तरक्रियामा एनआरएनएले गैर–आवासीय नेपालीहरुको समसामयिक विषय, बदलिएको नेपाली कानुन र गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारे छलफल गरेका थियो ।

एनआरएनए यूके अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको समुद्घाटन, अध्यक्ष खड्का, गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य, नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ट अधिवक्ता गोपाल कृष्ण घिमिरेले गरेका थिए ।

कार्यक्रममा गैर–आवासीय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसनवीच संयुक्त कार्यपत्रमा सम्झौता गरिएको छ । सम्झौता पत्रमा बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे र गैर–आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले हस्तांक्षर गरेका छन् । सम्झौता पत्र प्राध्यापक डा.सूर्य सुवेदी, एनआरएनए यूकेका उपाध्यक्ष डा.नारायण दत्त कंडेल र बार एसोसिएसन नेपालका प्रतिनिधिले तयार पारेका थिए ।

Advertisement

सम्झौता पत्रबारे बोल्दै एनआरएनए यूके उपाध्यक्ष डा.कंडेलले गैर–आवासीय नेपालीहरुका सम्पत्ति सम्बन्धि कुनै पनि समस्याको कानुनी लडाई एनआरएनए यूके र नेपाल बार एसोसिएसनले संयुक्तरुपले लड्ने बताए । यसको लागि नेपाल बार एसोसिएसन र गैर–आवासीय नेपाली संघ बेलायतको हेल्प डेस्क नेपालका प्रमुख सहरहरुमा राखिने उनले जानकारी दिए । क्रमशः यसको बिस्तार नेपालका सबै जिल्लाहरुमा गरिने पनि उनले बताए ।

यस्तै, भर्चुअल माध्यमबाट सम्झौता पत्रबारे बोल्दै प्रध्यापक डा.सूर्य सुवेदीले एनआरएनएहरुको सम्पत्तिबारे आफ्ना विचार राखेका थिए । गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिमा कसैले आँखा लगाउन नहुने र गैर–आवासीय नेपालीहरुले नागरिकताको निरन्तरताको मागलाई अगाडी बढाई निष्कर्षमा पुग्नुपर्ने र यसको लागि बार एसोसिएसन सहयोग गर्न तत्पर रहने आश्वासन दिए ।

कार्यक्रममा बोल्दै गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदका अध्यक्ष कुल आचार्यले एनआरएनए मुद्धाहरुबारे अझैं लबिङ गर्नुपर्ने बताए । ‘जे जति अधिकार मिलेको छ, यत्तिमै चित्त नबुझाई संघले अब दोहोरो नागरिकता र सम्पत्तिको हक नैसर्गिक बनाउनेमा संघको आगामी मुद्धा हुनेछ ।’, अध्यक्ष आचर्यले भने । ‘बोल्न र फेसबुकमा लेख्न सजिलो छ तर उपलब्धि हासील गर्न वार्ता, भेटघाट, बैठक र निरन्तर नेपालको नेतृत्वसँग लबिङ गर्नुपर्ने आवश्यकता छ ।, उनले थपे ।

राष्ट्रिय समन्वय परिषदका उपाअध्यक्ष डा. नारायण दत्त कंडेलले संयोजन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा हेम्मसायर पुलिसका सल्लाहकार, लेखक एवं नेता शिवजी श्रेष्ठ, सामाजिक अभियन्ता एवं नेता केशव भन्डारी, युरोप उपसंयोजक दयानिधि सापकोटा, पूर्व मानार्थ सदस्य एवं नेता रणबहादुर क्षेत्री, केन्द्रीय सदस्य महेश अधिकारी, नेपाली ब्रिटिस लयर्स एसोसिएसनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानिय अभियन्ताहरुले आ–आफ्नो भनाई राखेका थिए ।