पूर्वी पहाडको भुगोलसँग नेपाली साहित्य र संचारको भिन्न सम्बन्ध । पहाडमा जन्मिएका सिर्जना र प्रतिभाहरु नेपाली इतिहासमा नामेट छन् । नेपाली बाङ्गमयको समृद्धिमा पूर्वी पहाडका सर्जकहरुको योगदान कम्ता लोभलाग्दो छैन । पत्रकारिता र साहित्यको क्षेत्रमा पूर्वी पहाड भित्र विविधता पाइन्छ । सिर्जना शक्ति र सर्जकहरुको योगदान राष्ट्रिय स्तरमै स्थापित छ । यसमध्ये गिरिराज बाँस्कोटा पृथक शैलीमा उत्रिएका छन् । संचारकर्म र साहित्यलाई संगसँगै लिएर दौडिरहेका बाँस्कोटा उम्दा प्रतिभाका रुपमा दरिएका छन् । युवा सर्जकहरुका प्रतिनिधि हुन् ।
हालैमात्र प्रकाशनमा आएको उनको ‘कञ्चनजङ्घाको काख’नियात्रा संग्रहले त्यसलाई थप प्रमाणित गरेको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीरसहितको संग्रहले पर्यटकीय गन्तब्य, गाउँले रहनसहन र संस्कृति, लेकाली बस्ती, बस्ती बीचका फाँटहरु, जडिबुटी, प्राकृतिक सौन्दर्यतालाई सचित्र उतारेका छन् । लेखनको मिठासले संग्रह झनै ओझिलो बनेको छ ।
संग्रह तयार गर्न एक हजार आठ सय ७९ किलोमिटर मोटरसाइकल यात्रा गरेको लामो अनुभव सर्जकसँग छ । झन पैदल हिंडाइको त नापजोख नै छैन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ संग्रह भित्र पढ्न पाइन्छ । शब्दसँगै रंगिन तस्वीरले संग्रह थप रंगिन बनेको छ । प्रदेश १ का प्रभावशाली नेता इन्द्र बहादुर आङ्बो ‘मौसम’ले संग्रहको खुलेर प्रसंसा गरेका छन् । लेकमा पाइने चौरी, गुराँसका विभिन्न प्रजाती, पहाड मात्र पाइने तितेमाछाको प्रसंगलाई आङ्बोले रोमान्चक मानेका छन् ।
संग्रह तयार गर्न दर्श बर्ष खर्चिएको बाँस्कोटाको अनुभव छ । नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटालगायत २६ जिल्लाका रमणीय स्थलहरुको सचित्र चिनारीले पर्यटन क्षेत्रका लागि गहकिलो दस्तावेज संग्रहलाई लिन सकिन्छ । १६ पुस २०७६ देखि लोकमार्ग पछ्याउँदै पहाडै पहाड पूर्व–पश्चिम, नेपाल–यात्रा मा निस्केका उनले पुस्तकमा यात्रा भरका वृतान्त मात्रै दिएका छैनन्, नेपाली गाउँहरुमा लुकेर बसेका पर्यटकीय, धार्मिक, साँस्कृतिक, प्राकृतिक निधिहरूलाई पनि कलात्मक रुपमा प्रस्तुत गरेका छन् । संग्रह पठनीय मात्र छैन गहकिलो दस्तावेज अवश्य बनेको छ ।
एक सय ६४ पृष्ठको संग्रहमा ‘पहाडैपहाड पूर्व–पश्चिम’, ‘कंचनजङ्घाको काखबाट’, ओलाङ्चुङ्गोला हुँदै टिप्तला’, फक्ताङ्लुङ यात्रा’, तिम्बु पोखरी र पाथीभराको बयान, ‘तिते माछा त्राण’, ‘केन्जो करिस्मा’, चौंरी डुलाउनेको कथा’, ‘फाल्गुनन्दलाई सम्झिएर’, ‘फालोट डायरी’,‘गुराँसको गाथा’, ‘लुकेको भन्ज्याङ’, माइपोखरीको निम्तो’, पानीटार र श्रीअन्तुको यात्रा, पौवाभन्ज्याङदेखि सन्दकपुर’, रेडपाण्डासँगको भेटघाट, साधुटारको कथा, शीरदेखि तिरसम्म’, बर्मे गाउँको कथा संग्रहभित्र रमाइलोसँग प्रस्तुत गरिएको छ ।
‘ढुंगाको प्रेम’ कविता संग्रह प्रकाशन गरेर सर्जकको पहिचान बनाइसकेका गिरिराज संचार क्षेत्रका परिचित पात्र हुन् । उनको पछिल्लो ‘कञ्चनजङ्घाको काख’नियात्राले पूर्वी पहाडबाट अब्बल प्रतिनिधिका रुपमा आफूलाई उभ्याएका छन् । काठमाडौं बागबजारको शिखा बुक्स साथै ज्ञानज्योति बुक्स पब्लिकेसनले संग्रहलाई बजारमा पुर्याउन भरपुर सहयोग गरेको छ । ५९५ मूल्य तोकिएको पुस्तक पहिलो संस्करणका रुपमा बजारमा उपलब्ध छ ।