April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

इतिहास र मुन्धुममा अर्जुनबाबुको अवदान

राजकुमार दिक्पाल
२०८२ बैशाख २

1.6K

बुबा हुन्जेल हाम्रो घरमा नियमितजसो सांस्कृतिक अनुष्ठानहरु हुन्थे । बिहान र बेलुका बुबा धुप बालेर दुई तीन मिनेटजति मुन्धुम फलाक्थे । घरमा पालेको सुँगुर काट्नु परे फेदाङ्मा झिकाई विधि पु¥याएर पूजा चलाई आराध्यदेवी युमाको अनुमति लिनैपर्ने नियम थियो । आमाले माइतिबाट लिएर आएको आफ्नो इष्टदेव दुङदुङेको पूजा नियमित गर्नुपथ्र्यो । त्यसको लागि पूजा चलाउनु एक वर्षअघि नै जाँड पकाएर राखिन्थ्यो । पूजाको दिन मात्रै त्यो छिपिएको जाँडको घ्याम्पा खोलिन्थ्यो, जसको मुख गोबरले लिपेर राखिएको हुन्थ्यो ।
बुबा बित्दा म १४ वर्षको थिएँ । बुबामा मुन्धुम र इतिहाससम्बन्धी राम्रै ज्ञान थियो । उनी नियमित पूजापाठमा “तमरबासा” भन्दै फलाक्थे । मुन्धुमका अनेक आख्यानहरु उनीबाट सुन्न पाइन्थ्यो । तीमध्ये फक्ताङलुङ हिमाल वरिपरिका कथा निक्कै रोचक लाग्थ्यो ।
केही दिनअघि मात्रै युटुबरहरुको एक समूहले तयार पारेको तमोरनदीको मुहानसम्मको सामग्री दोहो¥याई तेह¥याई हेरेँ । लिम्बूहरुको मुन्धुमलाई तमोर सभ्यतासँग जोडेर विश्लेषण गर्छन्, मुन्धुमविद् अर्जुनबाबु माबुहाङ । एकातिर उनको विश्लेषणलाई मनन गर्दै र अर्कातिर बुबाले तमोरबासा भनेर फलाक्दै गरेको मुन्धुमको लयबाट अन्तरध्वनित हुँदै तमोर नदीको मुहानसम्मको युटुबरहरुको यात्रालाई मैले रोचक पारामा भन्दा पनि गुरुगम्भीर उत्सुकतासाथ नियालेँ ।
म अर्जुनबाबुको गतिविधिमाथि नियमित आँखा डुलाइरहने एक फेसबुके पनि हुँ । केही साताअघि उनी सदलबल फक्ताङलुङ हिमालको काखमा पुगेर बडो मीठो र गम्भीर भाकामा मुन्धुम गाइरहेको भिडियोबाट म कतिसम्म मुग्ध भएँ भने मानौँ, म आफै फक्लाङलुङ हिमालको काखमा पुगेको छु र त्यहाँ बहिरहेको सितलको स्पर्शले मलाई आनन्दित बनाइरहेको छ ।
म परेँ, लिम्बूभाषामा अत्यन्तै कमजोर । त्यसैले अर्जुनबाबुले गाएको मुन्धुमको अर्थ त बुझ्न सकिनँ । तर सङ्गीतको भाषा अन्तराष्ट्रिय हुन्छ । त्यसैले त चरीको भाषा नबुझे पनि उसले गाएको मीठो लयसँग नाचूँ नाचूँ लाग्छ । मैले अर्जुनबाबुको मुन्धुमी लय सुनेर यस्तै अनुभूति गरेँ ।
एउटा नपत्याउँदो मान्छे
पत्रकारितामा गरिखाने हुटहुटीका कारण झण्डै आधा दशक मेरा पाइतालाले धरानको सडक र गल्लीहरु लम्बाई नापेको छ । ती सडक र गल्लीहरुको चौडाई चाहरेको छ ।
हाडमा टाँसिएको छाला मात्रै भएको ४५ किलोग्रामको ख्याउटे सरीर भए पनि अवसादमुक्त मन बोकेर धरानको सडक र गल्लीहरुको नापो ठूलै उत्साहले नापिरहेको थिएँ । त्यति नै बेला पानीमा आगो बालूँलाझै गरेर कविताको विगुल फुक्दै हिँड्ने कविहरु अभागी थेगुवा र निरकुमार तिमुर भेटिए । कविता भनेपछि उनीहरु हात्ती नै उचाल्ने जोश देखाउँथे । उनीहरु संगठीत थिए, तीनजुरे साहित्य समूहमा । उनीहरुको नेता थिए, अर्जुनबाबु माबुहाङ । तर उनको बोलीचाली, हाउभाउ मलाई भने नितान्त खेस्रा लाग्थे । त्यहीँ कारण मेरो मन भने उनलाई साहित्यिक समूहको नेता मान्न तयार भइरहेको थिएन ।
“तपाईँहरुको नेताले त साहित्यमा सिन्को पनि भाँचेको देखिएको छैन, गरिखान्छ के यो समूहले ?” थेगुवा र तिमुरलाई यस्तो सोधेर तिरिमिरी खेलाउने मन भयो, एक दिन ।
तर उनीहरु केको तिरिमिरी हुनु ? दुवैले स्वरमा स्वर मिलाउँदै भने,“हैट दाई, त्यो मान्छे कम्तिको छ ? खुब पढ्छ नि हौ । अहिले नदेखिए पनि उसको काम पछि देखिन्छ है ! त्यहीँ भनेर हामीले नेता मानेको ।”
तर उनीहरुलाई पत्याइहाल्ने हतारो भने देखाइहालिनँ मैले ।
समयान्तरमा मैले धरान छाडेँ । थेगुवा र तिमुर पनि धरानमा रहेनन्, आआफ्नो बाटो लागे । उनीहरुको तीनजुरे साहित्य समूह पनि कर्कलोक पातको पानीजस्तै भयो, एकछिन टलक्क टल्केर भूँईँमा झरी बिलायो ।
धरानबाट निस्केर दुई वर्षजति धनकुटा बसी त्यसपछि म काठमाडौँतिर हान्निएँ, “राष्ट्रियस्तरको पत्रकार” बन्ने बडो ठूलो महात्वाकाँक्षाका साथ ।
भर्खरै काठमाडौँ पुगेर एउटा म्यागेजिनमा घुसेको थिएँ । त्यसबेला जनजाति विकास समिति थियो, अहिलेको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । तत्कालिन समितिका निर्देशक थिए, डा. चैतन्य सुब्बा । म भर्खरै आवद्ध भएको म्यागेजिनको लागि अन्तरवार्ता लिन एक दिन समय लिएर डा. सुब्बाको कार्यकक्षमा पुगेको थिएँ । त्यहाँ बुद्धिजिवीहरुको बाक्लै उपस्थिति थियो, विशेषगरी लिम्बूहरुको ।
अघि नै आएर बालकृष्ण माबुहाङ, छवि सम्बाहाम्फेहरु ढुक्कैले बसिरहेका थिए । दिलेन्द्र कुरुम्बाङ समितिकै कर्मचारी थिए । त्यहीँबीचमा गोविन्द सुब्बा (त्यतिखेर प्रा.डा. भइसकेका थिएनन्) हस्याङफस्याङ गर्दै आइपुगे । उनको हातमा बाइण्डिङ गरिएको माटो कागज पनि थियो ।
मलाई थाहा थियो, बालकृष्ण सर र गोविन्द सर दुवै सोल्टी हुन् । सेवारो साटासाटपछि बालकृष्ण माबुहाङको गोविन्द सुब्बातिर जिज्ञासा तेर्सियो,“अनि हाम्रो केटोको चाहिँ के छ खबर ? गरिखान्छ त त्यसले ?”
“होइन हाउ, केटोलाई यो जागिर गरेर मात्रै हँुदैन, यी यस्तो पनि गर् है भन्द्या छु, खै के गर्छ हाउ ?” यसो भन्दै आफूले बोकेको कागजको बाइण्डिङ देखाए सुब्बाले ।
उनीहरुले कसको विषयमा कुरा गरिरहेका छन् भन्ने एकछिनपछि मात्रै भेउ पाएँ । बालकृष्णले आफ्नो भतिजको बारेमा जिज्ञासा राख्दा गोविन्दले आफ्नो भान्जाको बारेमा जवाफ दिएका रहेछन् । एक जनाको भतिज र अर्का जनाको भान्जा भए पनि दुवैको “केटो” सम्बोधनमा परेका ब्यक्ति थिए, उनै अर्जुनबाबु माबुहाङ । जनजाति विकास समितिमा बुझाउन ल्याएको अनुसन्धान प्रतिवेदन उचाल्दै मामा चाहिँले “यसो गर् है भनेको” भन्नुको अर्थ रहेछ, “तँ पनि अध्ययन अनुसन्धानमा लाग् । लेखक बन् ।”
यो कुरा हो, २०५८ साल असारको ।
काका र मामा दुवै विश्वविद्यालयका प्राध्यापक । दुवै परे विद्यावारिधिधारी विद्वान ।
यता अर्जुनबाबु पनि के कम ? उनी धरान बसेर बिस्तारै जाग्दै गए । इतिहास र मुन्धुमको अलख जगाउँदै निस्के । एक दिन काठमाडौँमा भएको भेटमा प्रा.डा. टङ्क न्यौपाने उनको बारेमा भन्दै थिए,“होइन, केटोले ग¥यो हौ । लिम्बूको इतिहास र मुन्धुमको त पितृ बुझाउने भएर निस्क्यो ।”
भन्न त उहिल्यै कविद्वय थेगुवा र तिमुरले भनेकै थिए,“ त्यो मान्छे कम्तिको छ ? खुब पढ्छ नि हौ । अहिले नदेखिए पनि उसको काम पछि देखिन्छ है ! ”
उनीहरुले त त्यसबेला अर्जुनबाबुको बारेमा भविष्यवाणी पो गरेका रहेछन् । त्यसबेला ओँठ लेब्रो पार्ने मैले अहिले आएर उनीहरुको त्यो भविष्यवाणी पुरा भएको देख्न पाएँ । उनीहरुको कुरा पत्याउन बाध्य भएँ । त्यहीँ भएर उनको लेखरचनाको मात्रै होइन, फेसबुकको समेत फलोअर बन्न बाध्य छु, केही जान्न र बुझ्न पाउने तृष्णाले ।
इमानसिंह चेम्जोङ, वैरागी काइँला र डा. चैतन्य सुब्बाको बिँडो अब अर्जुनबाबुले नै धान्ने निश्चित भएको उपसंहार निकालेको छु मैले ।

हाकाहाकी बोली र लेखन
अर्जुनबाबुको अर्को महत्त्वपूर्ण विशेषता हो हक्किपन । उनले यस्तै हक्किपन देखाउँदा फेरि एकपटक मैले आफ्नो ओँठ अलि लेब्रो बनाएको थिएँ ।
कुरा प¥यो, १६ वर्षअघिको ।
इमानसिंह चेम्जोङको जन्मजयन्ती समारोहमा भारतको सिक्किम राज्यका तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको बाहुलीबाट सम्मान थाप्न नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काइँलालाई गान्तोकबाट निम्तो आउँदा एक पत्रकारको नाताले उहाँको पछि लाग्ने अवसर मैले पनि पाएँ । विद्यावारिधिको तम्तयारीमा रहेका कमल तिगेलालाई पनि सँगै त्यता लैजाने तय भयो । काठमाडौँबाट धरान निस्केर कमलजीको साथमा धुलाबारीस्थित वैरागी काइँला निवासमा पुग्ने योजनाअनुसार म धरान पुगी कमलजीको निवासमा पाहुना लागेँ । बिहान उफ्रिपाफ्री जिउ तन्याकतुनुक पार्न ब्याडमिन्टन टोलीको जमघट हुँदोरहेछ जिरोप्वाइन्टदेखि मास्तिर साइबाबा नामका ब्यक्तिले खोलेको कभर्डहलमा । कमलजीसहित अर्जुनबाबु, आइत खजुम पनि त्यहाँका नियमित खेलाडी रहेछन् ।
त्यो बिहानको खेल सकिएर पसिना पुछिसकेपछि अर्जुनबाबुले मसँग भने,“इमानसिंह चेम्जोङको योगदान अविस्मरणीय छ । तर उनका इतिहास र मुन्धुममा केही कमजोरीहरु छन् है, तिनीहरुलाई सच्याउनुपर्नेछ ।”
मैले उनको कुरामा दाँतले त हाँमा हाँ मिलाएँ, तर आँतले भने उनको प्रस्ताव पत्याइहाल्ने मन गरेन । उनले नदेख्ने गरी ओँठ लेब्रो बनाएँ,“इमानसिंहजस्तो विभूतिले लेखेको कुरामा पनि प्रश्न उठाउने ? हैट त्यस्तो कहाँ हुन्छ ?”
तर कालान्तरमा पढ्दै गुन्दै जाँदा मैले पनि इमानसिंह चेम्जोङका इतिहासका कतिपय तथ्य सच्याउनुपर्ने देखेँ । जस्तो कि उनले कामदत्त सेन वि.सं. १८१८ मा राजा भएको भन्ने लेखेका छन्, तर वि.सं. १८०८ मै उनी राजा भई कुम रायलाई लेखेको स्याहामोहरको सक्कल पाँचथरका आङ्देम्बेहरुसँग रहेको पाइयो । वि.सं. १८१४ मा राजाको हैसियतले उनले जारी गरेको स्याहामोहरको सक्कल धनकुटाको इवाहाङहरुसँग सुरक्षित छ । यस्तै चेम्जोङले महिपति सेन वि.सं. १७८२ मा विजयपुरको राजा भएको लेखेका छन्, तर चाँगेका आङबुहाङहरुसँग वि.सं. १७५४ मै महिपति सेनले राजाको हैसियतले उनीहरुका पुर्खा जगदिप रायका नाममा जारी गरेको स्याहामोहरको सक्कल रहेको फेला परेको छ ।
इमानसिंह चेम्जोङले आफ्नो समयमा जेजस्तो अवस्थाबाट स्रोतहरु फेला पारे, त्यसबेलाको उनको सिमा र बाध्यता बुझेर नयाँ तथ्यहरुको आधारमा इतिहास संशोधन गरिनुपर्ने देखियो । यसबारे अर्जुनबाबुले पहिल्यै संकेत गरिसकेको अहिले बुझ्दैछु । मैले लिम्बू मुन्धुम राम्ररी पढ्न बाँकी नै छ । त्यसैले इमानसिंह चेम्जोङले मुन्धुममा के कस्तो कमजोरी गरेका छन्, यसबारे मलाई केही पनि थाहा छैन ।
कुनै बेला अर्जुनबाबु महेन्द्र बहुमुखी क्याम्पस, धरानका लाइब्रेरियन थिए ।
विद्यार्थीहरुको सुविधाको लागि क्याम्पसमा स्थापना गरिएको पुस्तकालयको कर्मचारी भए पनि उनी विद्यार्थीभन्दा बढी पढन्ता भई निस्किए । उनले कति पढे भन्ने त उनका लेखरचना, प्रवचन आदिमा प्रकट भएकै छन् । स्थलगत अध्ययनका लागि उनको दौडधूपपूर्ण उकाली ओह«ाली पनि देखिएकै छ । बाहिरी आँखाले हेर्दा नगरपिताको हैसियतले उनले तेह«थुमको लालीगुराँस नगरमा बनाएको चो?लुङ पार्क फोटो खिच्ने सुन्दर ठाउँ हो, तर भित्री आँखाले हेर्दा त्यसभित्र पुरातत्त्व र इतिहासको अमूल्य भण्डार सुरक्षित भइरहेछ ।
इमानसिंह चेम्जोङले लेखेको इतिहास र मुन्धुममा कमजोरीहरु फेला आँट कस्न सानोतिनो अध्ययन पुग्दैन । यस्तो आँट अर्जुनबाबुले त्यतिकै बटुलेका होइनन् । किनकि लैबरीमा रमाउने आफ्नो उमेर र बैँश उनले लाइब्रेरीमा समर्पित गरे । आफ्ना इतिहार र मुन्धुमका मर्मज्ञ लुङ्वा दाजु भरत तुङघङको छायाँ पछ्याएर पनि आफ्नो प्रस्थानविन्दु तय गरे उनले । त्यसैले उनी इतिहास र मुन्धुममा हाकाहाकी भएर निस्के ।
अनि मैले इतिहासमा हात हालेँ
तिगेलाले विद्यावारिधि तयारीका क्रममा केही समय मलाई साथ लिएका थिए । मैले पनि त्यो समय उनको झोला बोकेर हिँडेँ ।
यसै मेसोमा तिगेलासँग समाजशास्त्री डा. कृष्ण भट्टचनको निवासमा पुगियो कोसेलीपातका साथ । तिगेला भट्टचन सरलाई गुरु थाप्न, म चाहिँ एक सहयोगीको रुपमा प्रस्तावित गुरुको लागि तयार कोसेलीपातको झोला बोकेर पुगेको थिएँ । त्यहीँ बेला सरको घरको पुस्तकालय घुम्दा महेशचन्द्र रेग्मीको “ल्याण्ड टेन्यूर एण्ड ट्याक्सेसन इन् नेपाल”को एउटा पृष्ठले तिगेला र मेरो मनमा खैलाबैला मच्चायो ।
हामी दुवैले पृथ्वीनारायण शाहले लिम्बू अगुवाहरु सुन राय, कुम राय र जङ्ग रायलाई दिएको लालमोहरको तिथी वि.सं. १८३१ साउन सुदी २२ रोज २ भन्ने पढेका थियौँ । तर रेग्मीको किताबमा त्यहीँ लालमोहरको तिथी वि.सं. १८३१ साउन सुदी १२ लेखिएको रहेछ ।
यता अर्जुनबाबुले आफ्नो किताब “लिम्बूवान”को आवरणमा पृथ्वीनारायण शाहको सक्कली लालमोहर भनेर टाँसेको त्यसैको फोटोले परिवर्तनउम्मुख त्यो समयमा लिम्बूहरुमा ठूलो हर्षबढाई भइरहेको थियो ।
एउटै लालमोहरको दुई वटा तिथी कसरी हुनपुग्यो ? तिगेला र मेरो मनमा यो प्रश्नले खैलाबैला मच्चाएको थियो । तिथिमिति उल्लेख भएको लिखतलाई इतिहासका मूलप्रमाण मानिन्छ ।
तर विवरण उही अनि तिथी चाहिँ कसरी फरक पर्न गयो ?
यो प्रश्नको समाधान निकाल्नै पर्ने भयो ।
सबैभन्दा पहिले कुन तिथी ठीक हो, त्यो पत्ता लगाउने क्रममा तिथी गणनामा सुदी वा वदी २२ सम्म नपुग्ने थाहा भयो । चन्द्रमाको घुमाईको आधारमा १५–१५ दिनमा तिथी परिवर्तन हुने र औँसीपछिको तिथीलाई सुदी र पूर्णिमापछिको तिथीलाई वदी भन्ने पनि त्यसैबेला थाहा पाइयो, इतिहासकार दिनेशराज पन्तबाट । इतिहासकार मोहनप्रसाद खनालले बताएको छापसम्बन्धी तथ्यअनुसार पृथ्वीनारायण शाहले प्रयोग गर्ने गरेको छापसँग पनि अर्जुनबाबुले छापेको लालमोहरको छाप मिलेन । पृथ्वीनारायण शाहको उपदेशको सक्कल हेर्न पुगियो, राष्ट्रिय अभिलेखालय । अर्जुनबाबुले लेखेजस्तो सक्कली भनिएको उक्त लालमोहरको अक्षर पृथ्वीनारायण शाहको उपदेश लेखिएको अक्षरसँग पनि मेल खाएन ।
राष्ट्रिय अभिलेखालयमा धाइरहदा २०२५ सालमा छापिएको “प्राचीन नेपाल” मा शंकरमान राजवंशीले सोही लालमोहर छापेका रहेछन् । त्यसमा उल्लेख भएको तिथी रहेछ, वि.सं. १८३१ साउन सुदी १ रोज २ तद्अनुसार साउन २७ गते सोमबार ।
मैले यो चाहिँ ठीक हो भन्ने ठहर गरी लेख लेख्दा मेरो विरोध गर्नेहरु पनि निक्कै निस्केछन्, तर अर्जुनबाबुबाट ब्यक्तिगत रुपमा मैले केही प्रतिक्रिया पाइनँ ।
तर यस्तो खुल्दुलीपछि अदालतमा तारिख खेप्ने झगडियाझैँ नियमितजस्तो हाजिर हुन थालेँ, राष्ट्रिय अभिलेखालयमा । पुस्तकालयमा रहेको क्याटलगमा घन्टौँ घोरिएँ । धेरैपटक माइक्रोफिल्मको रील घुमाएँ ।
त्यसपछि अर्जुनबाबुले छापेको सक्कली भनिएको लालमोहर नै मेरो लागि इतिहासको खोजी र लेखनमा प्रस्थानविन्दु बन्यो । पहिले इतिहास केवल ज्ञानको लागि पढ्थँे, तर म त्यहीँ दिनदेखि इतिहासमा अध्ययनसँगै लेखनको लागि पनि दत्तचित्त हुन थालेको हुँ ।
मैले लेख्दै वा भन्दै आइरहेको छु, वैरागी काइँलाको सुझावअनुसार म संशोधन मण्डलकहाँ पुगेँ र इतिहास लेखन पद्दति सिकेँ । बास्तवमा मलाई इतिहासको क्षेत्रमा धकेल्ने वा आकर्षित गर्ने लेखक चाहिँ अर्जुनबाबु माबुहाङ नै हुन् भन्ने तथ्य पहिलो पटक यहाँ उल्लेख गरिरहेको छु ।
लेखकीय मात्रै होइन ब्यक्तिगत रुपमा पनि म उनीसँग निकटवर्ति छु । उनका मामा गोविन्द सुब्बा मेरा स्नातक तहका गुरु मात्रै होइनन्, मेरा नजिकका सोल्टी पनि हुन् भन्ने अर्जुनबाबुलाई पहिलो पटक यसै लेखमार्फत् थाहा हुँदै होला । बञ्चरेका तुङघङसँग मेरी माहिली दिदीको विवाह भएको छ ।
यस्तै म परेँ, उनका काका बालकृष्ण माबुहाङको परमभक्त ।
विद्यार्थी संगठनभित्र नेपालको जातीय विविधता र समस्यासम्बन्धी एजेण्डाले पनि प्रवेश हुन पाउनुपर्छ भनेर २०४८ मा पोखरामा भएको अखिलको सम्मेलनमा एक विद्यार्थी नेता जोड जोडले उफ्रिएको देखेको थिएँ । म पनि त्यो सम्मेलनमा सहभागी थिएँ । तिनै नेता हामीछेउ आएर धरानका तत्कालिन विद्यार्थी नेता मनोज मेन्याङ्बोलाई लिम्बू भाषाबाट अनेक अनेक सम्झाएका थिए । उनले सम्झाएर हिँडेको एकछिनपछि शङ्कर पोखरेलको सवारी भयो, उनले मनोजलाई सम्झाई बुझाई गरेको दृश्य मेरो आँखाबाट अहिलेसम्म मेटिएको छैन । त्यसपछि मनोजलाई अनौठो निद्राले छोप्यो, सम्मेलनको बन्दसत्रभरको समय उनले हलमा उँघेरै बिताए । निद्रा सक्कली थियो कि नक्कली थाहा भएन ।
पछि मनोजलाई लिम्बू भाषाबाट सम्झाउने ब्यक्तिलाई काठमाडौँमा भेटेँ, त्यतिखेर नेपाल जनजाति महासंघको एक नम्बरको नेता अर्थात् महासचिव थिए, उनी अर्थात् बालकृष्ण माबुहाङ । उनले समातेको लयमै हिँडेर, तथ्यहरुलाई यथासक्य तलमाथि नगरी, कोही कसैसँग नडराई, अध्ययनमा सकेसम्मको गहिराई नापेर मैले लेखेको हुँ, “आदिवासी विद्रोहको इतिहास” ।
पछिल्लो समय अर्जुनबाबुले आफूले सक्कली भनेर छापेको लिम्बूको लालमोहर सक्कली नभई सारेर राखेको रहेछ भन्ने निष्कर्ष निकालेको “चौविसेको ऐतिहासिक अध्ययन”मा पढ्न पाउँदा मलाई ठूलो राहत भएको छ । यस्तै तिथीमा सुदी वा वदी २२ सम्म पुग्दैन भन्ने उनको पनि निष्कर्षले “सुदी २२ हुँदैन” भनी १३ वर्षअघि लेख्ने मेरो काँध पनि हलुको हुन पुगेछ । अब भने सुदी २२ हुँदैन भनी लेख्न आँट गर्ने म एक्लो भइनँ । यसैलाई भनिन्छ, वादे वादे तत्त्ववोध जायते ।
अरुको इतिहास संशोधन गर्ने संशोधन मण्डल स्वयम्ले आफ्नै गल्ती फेला पारेपछि आत्मसंशोधन गरेको उनीहरुको प्रकाशन “पूर्णिमा” पढ्दा थाहा पाइन्छ ।
आफ्नो गल्ती प्रमाणित भए त्यसलाई सच्याउन तत्परता देखाउनेमा मात्रै विद्वता हुन्छ । त्यस्तो तत्परता नभएकाहरु त बुद्धिजिवी होइन, जिद्दिजिवी हुन् ।
बास्तवमा उमेरमा मभन्दा सानो भए पनि अर्जुनबाबु माबुहाङ मैले मान्नुपर्ने बौद्धिक ब्यक्तित्त्व हुन् ।
अब अर्जुनबाबुबाट इतिहासको क्षेत्रमा थप अवदानको अपेक्षा त छँदैछ, उनीबाटै मुन्धुमको विशेष अध्ययन र विश्लेषणबाट मुन्धुमी पुरातात्त्विक अध्ययनको पनि अपेक्षा गरिएको छ । अहिलेसम्मको अवस्था हेर्दा यस्तो गुरुगम्भीर अवदान उनीबाटै विशेष सम्भव देखिरहेको छु । किनकि उनैले मुन्धुमी स्थलहरुको ढुङ्गा माटो चिनेका छन्, रुखपातको गन्ती गरेका छन्, खोलानालाको प्रवाह नापेका छन्, हावाहुरीको वेग थाहा पाएका छन् ।

Advertisement