काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिएका छन् ।
मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा पुग्नुभएका मन्त्री गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभागलाई निर्देशन दिएका हुन् ।
उनले भने, “बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। तपाईँले केही ठाउँमा मात्र अनुगमन गर्दा पनि सात प्रतिशत गुणस्तरहीन औषधि भेटिएको छ। यदि सबै ठाउँमा अनुगमनको दायरा बढाउने हो भने अझ गुणस्तरहीन औषधि भेटिन्छन्।”
अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उनले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिएका छन् ।
देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए। अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ विभाग छिटो भन्दा छिटो मन्त्रालय आउन आग्रह गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिए। उनले आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिए ।