काठमाडौं । भारतीय कंग्रेस नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजेपछि उक्त कार्यक्रमको भिडियो भाइरल भएको छ । ‘भारत जोडौँ यात्रा’का क्रममा रहेका गान्धीको महाराष्ट्रमा बुधबार भएको कार्यक्रममा शुरुमै नेपाली राष्ट्रिय गीतको धुन गुन्जिएको थियो ।
भारतीय राष्ट्रिय गानमा नेपाली राष्ट्रिय गान बजेपछि गान्धी डिजिटल प्लेटफर्महरुमा ट्रोल समेत भएका छन् । महाराष्ट्रको मञ्चबाट गान्धीले आफ्नो भाषणको अन्त्यमा ‘राष्ट्रिय गीत’ बजाउनको लागि घोषणा गर्छन्। मञ्चमा उपस्थित सबै दलका समर्थकहरूले आ-आफ्नो स्थानमा राष्ट्रिय गीत गाउँछन् । तर, गीत बजाउने व्यक्तिले नेपाली राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी’ बजाउँछन्।
नेपालको राष्ट्रिय गान बज्न थालेपछि राहुल आफैँले तत्कालै त्यसलाई रोकेका थिए । राहुलले बारम्बार राष्ट्रिय गान ‘जन गण मन’ बजाउन आग्रह गरेका छन् । राहुलले वास्तवमा भारतीय राष्ट्रगान ‘जन गण मन’ बजाउन लगाए पनि नेपाली राष्ट्र गान ‘सयौं थुङ्गा’ बजाएको पाइन्छ ।
धेरै अन्योलपछि गीत बजाउने व्यक्तिले अन्ततः भारतीय राष्ट्रिय गान बजाउँछन् तर त्यसमा पनि गडबड हुन्छ । उनले ‘जन गण मन’ गीतको पूर्ण संस्करण बजाइ दिन्छन्। त्यतिकैमा गान्धीको वरिपरि भएका समर्थकहरूले गीत बन्द गर्न माग गर्दै ‘भारत माता की जय’ भन्दै नारा लगाएका छन्।