काठमाडौं । पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाको शव निकालिएको छ भने ३० जना घाइते भएका छन् ।
आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा भएको दुर्घटनामा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र केहीलाई चितवनका अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ । रम्भा १ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए । बसमा रम्भा १ हुँगीअन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए ।