काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले माला, दोसल्ला र कलात्मक आँखिझ्यालयुक्त सम्मान–पत्र अर्पण गरी निवर्तमान कुलपति उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. उपाध्यायलाई सम्मान गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै निमित्त कुलपति डा. गुरुङले नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपतिका रूपमा गङ्गाप्रसाद उप्रेतीले थुप्रै महत्वपूर्ण कार्यहरू गरेको उल्लेख गर्दै ती कार्यहरूका कारण प्रज्ञा–प्रतिष्ठान र वाङ्मय जगतका सबैले उनको योगदानको स्मरण गरिरहने बताए ।

त्यसैगरी उनले सबै विषयमा विज्ञता भएको, निस्वार्थ भावले काम गर्ने प्रा. उपाध्यायजस्तो ऊर्जाशील सदस्य सचिव प्रज्ञा–प्रतिष्ठानले पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै प्रा. उपाध्यायकै कारण प्रज्ञा–प्रतिष्ठानले थुप्रै उपलब्धि हासिल गर्न सकेको बताए ।
निमित्त सदस्य सचिव प्रा.डा. पौडेलले कुलपति उप्रेती र सदस्य सचिव प्रा. उपाध्यायसँग सहकार्य गर्दाका दिनहरूको चर्चा गर्दै ती दिनहरू गर्व गर्न लायक रहेको बताए ।
कार्यक्रममा निवर्तमान कुलपति उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा आफ्नो आफूहरूले सम्पन्न गरेका कार्यहरूको स्मरण गर्दै प्रज्ञा–प्रतिष्ठानको उन्नयनका लागि काम गर्न पाउँदा आफूहरूलाई गौरव लागेको बताए ।

पूर्व कुलपति बैरागी काइँलाले निवर्तमान कुलपति उप्रेती, निमित्त उपकुलपति डा जगमान गुरुङ, निवर्तमान सदस्य सचिव प्रा. उपाध्याय र प्राज्ञ परिषद्मा रहेका सबै सदस्यहरूका कारण नेपाल प्रज्ञा–प्रतिष्ठानमा आमूल परिवर्तन भएको बताए । उनले प्रज्ञा भवनको रेट्रोफिटिङ, पुस्तकालय भवनको निर्माण, छापाखाना स्थापना, नेपाली बृहत् शब्दकोशको मोबाइल एप, नेपाल एकेडेमी इबुक एप, परराष्ट्र सम्बन्ध, महाकवि देवकोटा सङ्ग्रहालयको निर्माणजस्ता कार्यहरूले निवर्तमान कुलपति उप्रेती वाङ्मयजगत्का सबै मानिसका मन मनमा बसिरहने बताए ।

प्राज्ञ परिषद्का सदस्य डा. देवी नेपालले निवर्तमान कुलपति उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. उपाध्यायको कृतित्व तथा व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्य लक्ष्मी माली, पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराई, प्राज्ञ सभा सदस्य रमा शर्मा, आरडी प्रभास चटौतलेसमेत बोलेका थिए । प्राज्ञ परिषदका सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, प्राज्ञ परिषद्का पूर्व सदस्यहरू, आजीवन सदस्यरू, विभागीय सदस्यरू, सम्पादक मण्डलका सदस्यहरू एवम् प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए ।
तस्बिरहरूः सीताराम राई